चलचित्र ‘प्रसाद’ यसकारण प्रतिक्षित बन्दै

title
बिहिबार, मंसिर १३, २०७५

काठमाडौं । यस बर्षको बहुप्रतिक्षित चलचित्र ‘प्रसाद’ मङ्सिर २१ गतेबाट देशभर एक साथ प्रदर्शनमा आउँदैछ । चलचित्र ‘प्रसाद’ को नेपाल प्रदर्शन पश्चात २ दिन अष्ट्रेलियामा विशेष शो हुँदैछ । नेपालमा प्रदर्शन भएको दुई दिन पछि चलचित्रको अष्ट्रेलियामा विशेष शो हुनेछ ।

कडेल कन्सल्टेन्सीको प्रस्तुतीमा चलचित्र डिसेम्बर ९ र १० तारिखको दिन अष्ट्रेलियाको मेल्बर्नमा रहेको चिना टाउन सिनेमामा प्रदर्शन हुनेछ । डिसेम्बर ९ तारिखको दिन स्थानीय समय अनुसार साँझको ७ः४५ बजे र १० तारिखको दिन साँझ ७ः०० बजे प्रदर्शन हुनेछ । चलचित्रका लागि अनलाइन टिकट बुकिङ शुरु गरिएको छ । चलचित्रमा नम्रता श्रेष्ठ, बिपिन कार्की, निश्चल बस्नेत आदिको मुख्य अभिनय रहेको छ ।

लै लै’ बोलको गीतबाट चर्चामा रहेको चलचित्रमा सन्तान नहुँदा श्रीमान् श्रीमती बिच हुने मानसिक असमझदारी र सम्बन्धमा आउने मानसिक द्वन्द्वको कथा रहेको छ । दिनेश राउत निर्देशित ‘प्रसाद’ लाई सुशिल पौडेलले लेखेका हुन् । चलचित्रलाई सुबाश थापाले निर्माण गरेका हुन् ।

ट्रेलरमा देखिएको पावरफुल कन्टेन्ट र ‘लै लै’ बोलको गीतले निर्माण गरेको हाइपका कारण पनि चलचित्र प्रतिक्षित बनेको छ । चलचित्र कस्तो चल्ने हो प्रतिक्षित बनिरहँदा ‘प्रसाद’ ले रिलिज अगावै लगानी ओभरसिज राइट्सबाटै उठाउने छाँटकाट देखाएको छ । विशेष गरी अहिले युरोपियन मुलुकहरुमा फिल्मको हाई डिमान्ड रहेको बुझिएको छ ।

युरोप वितरणको अधिकार लिएका सुरज कार्कीका अनुसार, युरोपका ११ देशमा फिल्म प्रदर्शन पक्का भइसकेको छ । ११ देशमा २० शो बुक भइसकेको र अन्य देशबाट पनि फिल्मको माग बढिरहेको उनले बताए । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अष्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वेमा फिल्म प्रदर्शन हुने तय भइसकेको छ ।

फिल्मको पहिलो युरोप शो डिसेम्बर १४ मा फिनल्याण्डमा हुनेछ । एक दर्जन बढी फिल्मको युरोप वितरकका रुपमा काम गरिसकेका कार्कीले ‘छक्का पञ्जा ३’ पछिको उच्च डिमान्डेड फिल्म ’प्रसाद’ रहेको बताएका छन् । यसअघि ‘छक्का पञ्जा ३’ ले युरोपमा अहिलेसम्मकै उच्च ३० शो पाएको थियो ।

युरोपका अन्य देशबाट फिल्मको माग बढिरहेको बताउँदै उनी ‘छक्का पञ्जा ३’ कै हाराहारीमा फिल्मको शो हुनेमा विश्वस्त छन् । विदेशमा बस्ने नेपाली दर्शकमा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको राम्रो क्रेज हुनुका साथै गीतले दर्शकको अत्याधिक मन जितेका कारण युरोपमा फिल्मको उच्च माग रहेको कार्कीको भनाइ छ ।