चालु आर्थिक वर्षभित्र निजी आवास पुर्ननिर्माणको काम सक्ने प्राधिकरणको दाबी

title
मङ्लबार, मंसिर ४, २०७५

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको हो । मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उहाँले संचारकर्मी माझ चालू आर्थिक वर्ष भित्र मूलभूत रुपमा सम्पन्न हुनेगरी निजी आवास पुनर्निर्माणको कामलाई तीब्रता दिइएको पनि स्पष्ट पार्नु भयो ।

प्राधिकरणले हालसम्म ४३ प्रतिशत निजी आवास पुनर्निर्माणको काम सम्पन्न भएको, ३४ प्रतिशत काम सुरु गरिएको र बाँकि कामलाई पनि तीव्रता दिइएको पनि जानकारी गराएको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एकीकृत बस्ती निर्माणको काममा भने केही ढिलाई हुन सक्ने पनि उल्लेख गर्नु भयो ।

प्राधिकरणले अब बाँकि रहेको २ वर्ष ३ महिना भित्र सम्पदासहितको पुनर्निर्माणका सबै काम सम्पन्न गर्ने दावी पनि गरेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पुनर्निर्माणका लागि दिइएको पाँच वर्षको समयमध्ये अव २ वर्ष ३ महिना बाँकि रहेको उल्लेख गर्दै सो समय भित्र पुनर्निर्माणको सबै काम सम्पन्न गर्ने बताउनु भयो । उहाँले पुरातात्विक महत्वको सम्पदाहरु धरहरा, रानी पोखरी, काष्ठमण्डव निर्माणको कामलाई तीव्रता दिइएको पनि जानकारी दिनु भयो ।

प्राधिकरणले पुनर्निर्माणको कामलाई तीब्रता दिन स्थानीय तहलाई नै गुनासो तत्काल सम्बोधन गर्ने प्रावधानसहितको कार्यविधि पनि पारित गरेको छ । त्यसैगरी पुनर्निर्माणको लागि प्राविधिकहरुको कमी हुन नदिन त्यसको उचित व्यवस्था पनि गरिएको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताउनु भयो ।