चावाहील बौद्ध–जोरपाटी–साँखु सडक छिटै् गुणस्तरीय रुपमा निर्माण हुने

title
बिहिबार, साउन २४, २०७५

काठमाडौ । पूर्वाधार तथा यातायातमन्त्री रघुबीर महासेठ चावाहील बौद्ध–जोरपाटी–साँखु सडकखण्डको अनुगमन गनुभएको छ ।

सत्तारुढ नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रदेशसभा सांसद रामेश्वर फुयाँल, सडकका अधिकारी सहित बिहिवार मन्त्री महासेठले उक्त सडक खण्डको खाल्डाखुल्डी पुर्न दिएको निर्देशनको कार्यान्वयन बारे अनुगमन गर्नुभएको हो ।

अनुगमन गर्र्दै मन्त्री महासेठले जतिसक्दो छिटो गुणस्तरीय रुपमा निर्माण कार्य सम्पन्न गर्न निर्देशन दिनुभएको थियो । अनुगमनका क्रममा उहाँले ढल, खानेपानी आयोजनाले गरिरहेको कामको पनि जानकारी लिनुभएको थियो । अनुगमनका क्रममा सडक निर्माणका ठेकेदारहरुले १५ दिन भित्र सो सडक खण्डका सबै खाल्डाखुल्डी पुर्ने काम सकिने बताएका थिए ।

मन्त्री महाशेठले जनताको समस्या र पीर मर्का बुझेर सडक मर्मतको काम अघि बढाएको बताउनुभयो । भदौ १२ गतेपछि सडकमा कुनै खाल्डा नरहने भन्दै उहाँले पीच गर्न समय लागेपनि खाल्डाखुल्डी सबै पुरिने दाबी गर्नुभयो ।

अनुमगनका क्रममा स्थानीयले भने पानी परेको बेला आफुहरुले निकै कष्टकर यात्रा गर्नुपरेको भन्दै त्यही बेला अनुगमनमा आउन सुझाव दिएका थिए । त्यस क्रममा अनुगमनमा सहभागी काठमाडौं निर्वाचन क्षेत्र नम्बर दुईका सांसद समेत रहेका नेकपा नेता माधव कुमार नेपालले काममा ढिलाइ गर्नेमाथि कारवाहीको चेतावनी दिनुभएको थियो ।