चितवनमा बस र ट्रक ठोक्किँदा चार जनाको मृत्यु, १७ घाइते

title
बुधबार, साउन २३, २०७५

चितवन । पुर्वी चितवनको रत्ननगर नगरपालिका–१० भानुचोकमा मंगलबार राति बस र ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् ।

काठमाडौंबाट झापाको काँकडभिट्टा जाँदै गरेको ना ६ ख १७४१ नम्बरको बस र विपरित दिसाबाट आउँदै गरेको ना ५ ख ५९४१ नम्बरको ट्रक एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

राति ११ बजे भएको सो दुर्घटनामा परी ट्रकका चालक रौटहट चन्द्रपुर नगरपालिका–२ का ३४ वर्षीय मोहन घिसिङ, सहचालक सोही ठाउँमा ३० वर्षीय बुद्धिमान लामा, बसका यात्रु ताप्लेजुङको खुम्ली नगरपालिका १ बस्ने ४२ बर्षिय तारा बराल र काठमाडौं थानकोट–३ का ४८ वर्षीय विष्णुप्रसाद थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा गम्भीर घाइते भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको हो । घाइते १७ जनामध्ये १३ जनाको पुरानो मेडिकल कलेज र चार जनाको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।