चितवन र काठमाडौं तथा धनगढी र बुटवल भिड्दै

title
बिहिबार, कार्तिक १५, २०७५

काठमाडौं । पोखरमा जारी पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत आज पनि दुई वटा खेल हुँदैछन् । विहीबार हुने पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सको सामना गर्दै छ । खेल विहान ९ बजेबाट शुरु हुनेछ । त्यस्तै सवा १ बजेबाट हुने खेलमा एक्सपर्ट धनगढीले बुटवल ब्लास्टरको सामना गर्नेछ ।

यसअघि हिजो भएको खेलमा पारस खड्काको कप्तानीमा रहेको चितवन राइनोज र सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर टाइटन्सले पहिलो जित हासिल गरेका छन् । आफ्नौ तेस्रो खेलमा चितवनले पहिलो जित हासिल गरेको हो भने विराटनगरले चौथो खेलमा जित दर्ता गरेको हो ।

दुवै टोलीले आफ्नो खेलमा जित दर्ता गरेसँगै उपाधि होडको झिनो सम्भावनालाई जिवितै राखेका छन् । चितवनले बुधबार विहान भएको खेलमा एक्स्पर्ट धनगढी ब्लुजसामु १ सय २६ रनको फराकिलो अन्तरले पराजित गरको छ । जितसँगै चितनवका कप्तान पारसले अग्रपंक्तिका ब्याट्सम्यानले राम्रो प्रदर्शन गरेका कारण प्रतियोगितामा पहिलो जित निकाल्न सफल भएको बताए । चितवन अघिल्ला दुई खेलमा पराजित भएको थियो । अग्रपंक्तिका ब्याट्सम्यानबाट राम्रो प्रदर्शन नहुनुलाई कप्तान पारसले हारको कारण बताउदै आएका थिए ।

त्यस्तै बुधबार नै भएको खेलमा विराटनगर टाइटन्सले पनि पहिलो खेलमा जित हात पारेको हो । विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै दुई अंक जोड्न सफल भएको हो । प्रतियोगितामा विराटनगर टाइटन्स, चितवन राइनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टिम रहेका छन् । कात्तिक ९ देखि शुरु भएको प्रतियोगिता २० गतेसम्म सञ्चालन हुनेछ ।