चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य प्रस्तुत

title
बुधबार, अशोज २४, २०७५

काठमाडौं । आईसीसी टि-२० विश्वकप छनोट अन्तर्गत नेपालले जितको लागि रनको लक्ष्य पाएको छ । पहिलो ब्याटिङको निम्तो पाएको चीनले १३ ओभरमा अलआउट हुनुअघि २६ रन जोडेको हो ।
चीनका लागि ओपनर होङ यानले सर्वाधिक ११ रन जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । चीनका ८ ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालले ९ रन एक्स्ट्रा दिएको थियो । नेपालका लागि ललित नारायण राजवंशीले ४ तथा सन्दीप लामिछाने र वसन्त रेग्मीले ३-३ विकेट लिए ।

नेपालले खेलको दोस्रो ओभरमा पहिलो सफलता हात पारेको थियो । ६ रनको स्थितिमा ललित नारायण राजवंशीले सनलाई बोल्ड गरेका थिए । त्यसपछि सन्दिप लामिछानेले सातौं ओभरको दोस्रो र तेस्रो बलमा विकेट झारे । दोस्रो विकेटका लागि १५ रनको साझेदारी भएको थियो ।

आठौं ओभरमा वसन्त रेग्मीले २ विकेट लिएपछि चीन समस्यामा पारेको थियो । रेग्मीले सर्वाधिक ११ रन जोडेका यानलाई कप्तान ज्ञानेन्द्र मल्लको हात बाट क्याचआउट गराए । त्यसपछि नवौं ओभरमा सन्दीपले एचटि लीलाई शून्यमा बोल्ड गरे ।

दशौं ओभरमा वसन्तले वाईएफ झूलाई गोल्डेन डकआउट गराए । उनैले १२ औं ओभरमा य वाङलाई स्टम्पिङ आउट गराएका थिए । ललितले १३ औं ओभरमा डीजेड मालाई ५ रनमा क्याच आउट गराए । शी यू पनि ललितको बलमा बोल्ड भए ।