चुम्लिङटार दुर्घटनाले शोकमा डुब्यो भन्सार, एउटै आँगनबाट तीन शव उठ्दा गाउँमा रुवाबासी

title
आइतवार, साउन १३, २०७५

नारायण खड्का । तनहुँ । शनिबार दिउँसो १ बज्दै थियो । भानु नगरपालिका १ भन्सारमा मानिसहरुको ठूलो भीड लागेको थियो । सबैका अनुहार मलिन र निन्याउरा देखिन्थे । चितवनको चुम्लिङटारमा शुक्रबार भएको बस दुर्घटनामा ज्यान गुमाएका एकै परिवार तीन सदस्यको शव ल्याइपु¥याइयो ।

चितवनको भरतपुर अस्पतालको शव गृहमा एक रात राखेर शवलाई उनीहरुकै पुख्र्यौली घर भन्सार लगियो । बस दुर्घटनामा नपरेको भए शुक्रबार साँझ नै हाँस्दै रमाउँदै पुख्र्यौली घरमा पुग्ने विष्णुकुमार श्रेष्ठको परिवारका तीन सदस्य शनिबार निर्जिव बनेर घर अगाडिको आँगनमा तेर्सिए ।

८ बर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएका विष्णुकुमारकी ४७ वर्षीया श्रीमती कमला श्रेष्ठ, २७ बर्षका छोरा सुमित र १९ बर्षकी छोरी कविनाको चुम्लिङ्टार वस दुर्घटनामा परेर मृत्यु भएको हो ।

घाइते विष्णुकुमार चितवनको पुरानो मेडिकल कलेजमा उपचाररत छन् । अस्पतालमा छट्पटाइरहेका विष्णुकुमारले आफ्ना तीन प्रियजनलाई अन्तिममा एकपटक हेर्न र विदाई गर्न समेत पाएनन् । छोरा सुमितको अस्ट्रेलियाको भिसा लागेको थियो ।

अस्ट्रेलिया जानुअघि मनकामनाको दर्शन गर्ने र एक पुख्र्यौंली थलोमा पुगेर सबै आफन्तहरुसँग भेटघाट पनि गर्ने योजना अनुसार उनीहरु मनकामना र तनहुँ आउँदै थिए । तर दुःखद् दुर्घटनामा परेका उनीहरुले नत भगवानको दर्शन नै गर्न पाए नत आफन्तहरुसँग भेटेर खुसी साट्न नै ।

बुबा विष्णुकुमार काठमाडौंमा होटलमा प्रबन्धकका रुपमा काम गर्थे । उनले दुवै छोराछोरीलाई उतै राखेर पढाए । उनको परिवारमा एक छोरा, एक छोरी र एक श्रीमती मात्रै छन् । तीनै जनाको दुर्घटनामा ज्यान गयो । छोरालाई अष्ट्रेलिया पठाउने र परिवारलाई सुख दिने परिकल्पना गरेका विष्णुकुमारको सपना चुम्लिङटारको दुर्घटनामा फुटेको छ ।

उनी परिवारमा एक्लो भएका छन् । घर अगाडि राखिएका लासहरुलाई अन्तिम संस्कारका लागि घाटतर्फ लैजाने तयारी गरियो । उपस्थित भीडमा रुवावासी चल्यो । एकै घरको आँगनबाट तीन तीनवटा लास उठाउँदा यस्तो घटना फेरि कसैलाई पनि नपरोस् भगवान भनेर कामना गर्नेहरु थिए सबै ।

अन्तिम बिदाइका लागि पुगेका एक वृद्ध भन्दै थिए, ‘आमा बनेर आफैले जन्मायौ, आफूसँगै लिएर गयौं, यस्तो कसैको नहोस्, कसैको देख्न र सुन्न पनि नपरोस् ।’ शुरुमा आमा कमलाको शव उठाइयो । त्यसपछि छोरा सुमित र छोरी कविनाको । लासका पछितिर मलामीहरु लाग्छन् तर यहाँ लासको पछि लास नै लागिरहेको जस्तै अनभूति हुन्थ्यो ।

भर्खरै रोपिएको भन्सारको खेत हरियो हुँदै थियो । खेतका आलीका डिलैडिल मलामीहरु शंख बजाउँदै हिँडेको दृश्य र लस्करै लासहरुको ताँतीले मन भक्कानिन्थ्यो । जहाँ उनीहरुका पूर्खाहरुको अन्तिम संस्कार गरियो सतीघाटमा, त्यही नै उनीहरुको पनि अन्तिम संस्कार भयो ।