चोरीका सवारी साधनबाट काठ तस्करी

title
मङ्लबार, माघ ८, २०७५

रौतहट । चोरीका सवारी साधन प्रयोग गर्दै रौतहटको बनबाट सालका गोलिया काठ तस्करी हुने गरेको खुलेको छ । पछिल्लो एक महिना यता मात्रै डिभिजन बन कार्यालय रौतहटले बरामद गरेको पाँच वटा जीपको लगत नभेटिएपछि चोरीको सवारी साधन भएको पाइएको हो । तस्करहरुले भारतीय सवारी साधन भित्र्याएर सालको गोलिया काठ तस्करीमा प्रयोग गर्ने गरेको पाइएको छ । चोरीको सवारी साधनमा भने स्टिकरमा नक्कली नम्बर लेखेर टाँस गर्ने गरेका छन ।

डिभिजन बन कार्यालय रौतहटले सोमबार राती सबडिभिजन बन कार्यालय जुडिबेलाबाट सात थान गोलिया काठ सहितको बोलेरो जीप बरामद गरेको छ । हातहतियार सहित बन प्रवेश गरेका तस्करहरु भने अर्को एक जीपमा भाग्न सफल भएको सहायक बनअधिकृत महेन्द्र जैयसवालले बताउनु भयो । उहाँका अनुसार गोलिया काठ ५६ क्युफिट बरामद भएको छ । राजमार्गका बिभिन्न स्थानमा ट्राफिक प्रहरीको चेकजाँच हुने गरेपनि तस्करहरुले चोरीका सवारी साधन सहजै प्रयोग गर्दै आएको पाइएको छ ।