चौधरी हत्याको विरोधमा प्रदर्शन, आरोपित पाण्डेको घरमा आगजनी

title
आइतवार, मंसिर ९, २०७५

कपिलवस्तु । गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता दिपेन्द्र चौधरीको हत्याको विरोधमा उनका आफन्तजन र समर्थकले आगजनी तथा विरोध प्रदर्शन गरेका छन् ।

युवा नेता राजाबाबु भनिने चौधरीको शुक्रवार राति ९ बजे शुद्धोदन गाउँपालिका वडा नम्बर ४ मोतीभारीमा गोली प्रहारबाट हत्या गरिएको थियो । हत्याको आरोप लागेका शुद्धोदन गाउँपालिका –४, मोतीभारीका अजित पाण्डेको घरमा आगजनी गरिएको छ । हत्याको विरोध गर्दै मृतक राजाबाबु चौधरीका आफन्तजन, समर्थक र सर्वसाधारणले आरोपी पाण्डेको घरमा रहेको १ थान ट्याक्टर, १ थान हार्भेस्टर कम्बाइन र ४ थान मोटरसाइकलमा आगजनी गरेका हुन् ।

आगजनीको प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबिच झडपसमेत भएको प्रहरी नायब उपरीक्षक रवि रावलले बताउनुभयो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर र गोलीसमेत चलाएको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागेको छ भने थप २ जना प्रहरी घाइते भएका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन र वार्ताको प्रयास गर्न प्रहरी प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेल, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, नेपाल प्रहरीका उपरीक्षक अच्युतम पुडासैनी लगायतको टोली घटना स्थल लवनीमा तैनाथ छ ।