च्यासल राइनो गोल्डकपको उपाधि नजिक

title
बिहिबार, कार्तिक २९, २०७५

नवलपरासी । नवलपरासीमा जारी राइनो गोल्डकप २०७५ को दोस्रो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई ४–० ले पराजित गर्दै भ्याली च्यासल युवा क्लब प्रतियोगिताको फाइनलमा पुगेको छ ।

च्यासलले खेलको २२ औं मिनेटमा सन्जोग राइको गोलमा अग्रता लिएको थियो । पहिलो हाफमा १–० ले अगाडी रहेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्यो । ७२ औं मिनेटमा राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ति मगरले गोल गर्दै च्यासलको अग्रता दोब्बर पारे ।

त्यसको तीन मिनेट नबित्दै मिडफिल्डर विश्व अधिकारीले गोल गर्दै च्यासललाई ३–० को अग्रता दिलाए । खेलको ९ मिनेट बाँकी छँदा हेमन्त थापा मगरले गोल गर्दै च्यासलको फराकिलो जित पक्का गरेका थिए । च्यासलले अब फाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

पुलिसले मंगलबार भएको सेमिफाइनलमा वीरगंज युनाइटेडलाई पराजित गरेको थियो । पल्सर साहिद स्मारक ए डिभिजन लिगको तयारीको रुपमा रहेको राइनो कपको फाइनल बिहीबार हुनेछ । च्यासल लिगको पहिलो खेलमा मछिन्द्रसँग गोलरहित बराबरीमा रोकिएको थियो । लिग अन्तर्गत च्यासलले शनिबार त्रिभुवन आर्मी क्लबको सामना गर्नेछ ।