च्यासल ‘राइनो गोल्ड कप’ च्याम्पियन

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । ए डिभिजन लिगको नवप्रवेशी च्यासल युथ क्लबले सिजनको पहिलो उपाधिको रुपमा राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

नवलपरासीको कोल्हुवामा बिहिबार भएको उपाधि भिडन्तमा उपाधिको अर्काे दावेदार विभागीय नेपाल पुलिस क्लबलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै च्यासल च्याम्पियन बनेको हो ।

निर्धारित ९० मिनेटको समयमा दुवै टोलीले समान २–२ गोलको बराबरी खेलेका थिए । थप गरिएको समयमा पनि थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । जसमा च्यासलले ५–३ गोल अन्तरले बाजी मा¥यो । पुलिसले अभिषेक रिजालको गोलमा अग्रता लिएपनि विक्रम लिम्बूले शान्दार गोल गर्दै खेल बराबरीमा ल्याए ।

च्यासलका डिफेन्डरले आत्मघाती गोल गरेपछि पुलिसले फेरी अग्रता लिएको थियो । तर दीनेश राजवंशीको आत्मघाती गोलसँगै खेल पुनस् बराबरीमा आयो । थप गोल हुन नसक्दा खेल अतिरिक्त समय हुँदै टाइब्रेकरसम्म लम्बिएको थियो ।

टाइब्रेकरमा च्यासलका बिमल घर्तीमगर, छिरिङ गुरुङ, विश्व अधिकारी, देवेन्द्र तामाङ र हेमन्त थापामगरले गोल गरे । पुलिसका रेजिन सुब्बा, अजित भण्डारी र दिनेश राजवंशीले गोल गर्दा तेज तामाङ चुकेका थिए । यससँगै पुलिस सिजनको तेस्रो उपाधि जित्नबाट चुक्यो ।

पुलिसले यसअघि दमक गोल्डकप र नुवाकोट गोल्डकपको उपाधि जितेको थियो । दुवै फाइनलमा पुलिसले रुस्लान थ्री स्टार क्लबलाई पराजित गरेको थियो । च्याम्पियन बनेसँगै च्यासलले ४ लाख ९९ हजार ५ सय ५५ नगद प्राप्त गर्यो । दोस्रो स्थानमा चित्त बुझाएको पुलिसले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पायो । नन्द भाउजु मध्यवती उपभोक्ता समितीले राइनो संरक्षण गर्ने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगितामा ‘ए’ डिभिजन क्लबसहित १२ टोलीको सहभागिता रहेको थियो ।