छक्का पञ्जाको छलाङ, १३ हलमा ५१ औं दिन

title
शुक्रबार, मंसिर १४, २०७५

‘कमेडी विथ कन्टेन’ले दर्शकको मन जित्योः दीपक-दीपा

काठमाडौं । छक्का पञ्जाको तेस्रो सिक्वेल चलचित्र छक्का पञ्जा–३ ले एक पछि अर्को गर्दै रेकर्ड ब्रेक गरिरहेका बलो मुलुकका १३ हलमा सफलतापूर्वक ५१ औं दिन पार गरेको छ । चलचित्र इतिहासको सबै भन्दा बढी कलेक्सन गर्दै विभिन्न रेकर्ड राख्न सफल चलचित्र ‘छक्का पञ्जा ३’ असोज २४ घटस्थापनाको दिन देखि प्रदर्शनमा आएको हो ।

उपत्यका र मोफसलमा गरी १३ वटा हलमा सफलतापूर्वक प्रदर्शनको ५१ औँ दिन पार गरेको हो । अघिल्लो सिरिजहरु छक्का पञ्जाले १०१ दिन र छक्का पञ्जा २ ले ५१ औँ दिन पार गरेका थिए । यसको तीनै सिरिजलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । फिल्मले उपत्यकामा मल्टिप्लेक्स अन्तर्गत क्युएफएक्सको सिभिल मल सुन्धारा, बिग मुभिज कमलपोखरी, एफ क्युब सिनेमा चुच्चेपाटी चाबहिल, बिजी मल बिएसआर गोंगबु तथा सिङ्गल थिएटर अन्तर्गत अष्टनारायण पिक्चर्स प्रालि बाइपास बालाजु, गुण सिनेमा ग्वार्को, गङ्गा सिनेमा बालाजु, गोपी कृष्ण मुभिज चाबहिल र बाराही मुभिज भक्तपुरमा ५१ औँ दिन पार निर्माण पक्षले जानकारी दिएको हो ।

यसैगरि मोफसल अन्तर्गत कालिका सिनेमा बुटवल, क्युएफएक्सकै जालमा नारायणगढ र बागेश्वरी नेपालगंज तथा विन्दवासिनी सिनेमा पोखरामा प्रदर्शनको ५१ औँ दिन पार गरेको जनाइएको छ । कन्टेन विथ कमेडी भनिएको छक्का पञ्जाको तेस्रो सिरिजलाई दर्शकसँगै समिक्षकले पनि चलचित्र निकै राम्रो बनेको समिक्षा गरेका थिए । फिल्ममा दीपकसँगै जितु नेपाल, केदार घिमिरे, दीपिका प्रसाई, शिवहरी पौडेल, शिशिर बांग्देल, नीर शाह, किरण केसी, जयनन्द लामा लगायतको अभिनय रहेको छ । चलचित्रको कार्यकारी निर्माता जितु नेपाल र केदार घिमिरे हुन् । अघिल्लो सिरिज झैँ यसमा पनि सुमन गिरी ‘भान्जा’ र तारा चन्द्र बजगाई ‘निशान’ निर्माताको रुपमा रहेका छन् ।

निर्देशक दीपाश्री निरौलाले चलचित्रले सफलतापूर्वक ५१ औं दिन पार गर्नुमा धेरै सहयोगी हात रहेको बताए । उनले आफ्नो टिमलाई सफल बनाउनुमा मिडियाकर्मी र दर्शकको उत्तिकै भूमिका रहेको भन्दै आभार प्रकट गरेकी छिन् । उनले भनिन्– ‘हामी कमेडी विथ कन्टेन भनेर अगाडि बढेका थियौं, जसलाई दर्शकले झनै मन पराउनुभयो । यसले हामीलाई झनै उत्साह बढेको छ । आगामी दिनको हाम्रो मार्गदर्शन दर्शक बनिदिनु भएको छ । फेरी पनि ५१ औँ दिनको अवसरमा सम्पूर्ण दर्शक, मिडियाकर्मी तथा हल संचालकलाई धन्यवाद दिन चाहन्छु ।’

कलाकार तथा निर्माता दीपकराज गिरीले पनि चलचित्रले सफलतापूर्वक ५१ दिन पार गरेकोमा शुखी व्यक्त गरे । उनले भने– ‘चलचित्रले हामीलाई मात्र होइन हाम्रो प्रदर्शक र वितरकलाई पनि खुसि बनाएको छ । हामीले विदेशमा फिल्म प्रदर्शन अधिकार दिएकालाई पनि यसले खुसि बनाएको छ नै प्राय फिल्म नचल्ने हलमा पनि यसले दर्शकको माया पाएको छ । हामी कृतज्ञ छौं, सम्पूर्ण दर्शक प्रति जसले हामीलाई यति धेरै विस्वास गर्नु हुन्छ अनि मिडियाकर्मी प्रति जसले हामीलाई दर्शकसम्म पु¥याउनु हुन्छ ।’

आमा सरस्वती मुभिजको प्रस्तुति रहेको फिल्मको निर्माणमा आइएमईले पनि सहकार्य गरेको छ । फिल्ममा कथा दीपकराज गिरीको रहेको छ भने संवादमा दीपकसँगै केदार घिमिरे , जितु नेपाल, यमन श्रेष्ठ रहेका छन् । फिल्ममा दीपक शर्मा र अर्जुन पोखरेलको संगीत रहेको छ । फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व , कविराज गहतराज र प्रविन सिंहको नृत्य निर्देशन, पुरुषोत्तम प्रधानको छायाँकन, सुनयमान श्रेष्ठको मिक्सीङ्ग, सुजिल कर्माचार्यको पाश्र्व गीत रहेको छ ।