‘छक्का पञ्जा ३’ आजबाट दर्शकमाझ

title
बुधबार, अशोज २४, २०७५

काठमाडौं । वर्षको बहुप्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ बुधबार अर्थात् घटस्थापनाको दिनबाट प्रदर्शनमा आउँदैछ । सोलो रिलिजको अवसर पाएको फिल्मले देशभरका अधिकांश सिंगल पर्दामा आफ्नो उपस्थिति जनाउँदैछ भने मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । सबैभन्दा ठूलो मल्टिप्लेक्स क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० शो पाएको छ ।

त्यसो त दसैंको बजारलाई मध्यनजर गर्दै चलचित्रले सवैभन्दा बढी दर्शकको साथ पाउने समयका रुपमा लिइन्छ । यही मेसोमा नेपाली चलचित्रका फ्राइडे रिलिजको क्रमभंगतालाई तोड्दै बुधबारबाटै चलचित्र प्रदर्शनमा आएको हो । शुक्रबार बाहेकका अन्यत्रबारमा चलचित्र प्रदर्शनमा आएको यो पहिलो घटना भने होइन । समयानुसार चलचित्र निर्माताहरुले विभिन्न चाड पर्वलाई लक्षित गरी फरक फरक बारमा समेत चलचित्र प्रदर्शनमा ल्याउने गरेका छन् ।

चलचित्रको ‘पहिलो नम्बरमा’ र ‘पछि उमेर ढल्किन्छ’ बोलको गीतले हाइप बढाइरहेका बेला चलचित्रको प्रचार प्रसार पनि आक्रामक गरिएका कारण दर्शकले चलचित्रको राम्रै साथ पाउने अपेक्षा गरिएको छ । त्यो भन्दा पनि चलचित्रमा स्टारकास्टहरुको बेजोड अभिनयकै कारण पनि चलचित्र प्रतिक्षित बनेको हो ।

त्यस्तै चलचित्र छक्का पञ्जा आफैमा एउटा ट्याग बनेका कारण पनि चलचित्र राम्रो बनेको हुनसक्ने आम दर्शकको अपेक्षा हो । किनकी यसभन्दा अघिका दुई सिक्वेलले पनि दर्शकको राम्रै साथ पाएका थिए । छक्का पञ्जा नेपाली चलचित्रमा सर्वाधिक सफल भएको चलचित्र पनि हो । दीपाश्री निरौला निर्देशित फिल्मले पहिलो दिन नै करोडमाथि कलेक्सन गर्ने अनुमान चलचित्रकर्मीको छ ।

दसैंको अवसर भएपनि यसपटक ‘छक्का पञ्जा ३’ लाई शनिबार बाहेक सार्वजनिक विदा छैन । निर्देशक दीपाश्री भने बिना विदा प्रदर्शनमा आउनुलाई चुनौती र अवसरका रुपमा लिन्छिन् । ‘छक्का पञ्जा २’ भन्दा अगाडि हाम्रा कुनै पनि फिल्म विदामा आएका थिएनन् । सबै सुपरहिट भएकै हुन’्, उनले भनिन् । जातीय विभेद, बेरोजगार, विद्यालयमा हुने राजनीतिको कथालाई चलचित्रमा प्रस्तुत गरिएको यस अघि सार्वजनिक भएको ट्रेलरले देखाएको छ । चलचित्रले सामाजिक कथावस्तुलाई समेटेको भए पनि चलचित्र हेर्न पुगेका दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षको दाबी छ ।

‘छक्का पञ्जा ३’ मा संवेदनशील विषयवसँगै आफ्नो जनरा पनि नछोडेको निर्मात्री दीपाश्रीले बताइन् । उनले अब आफूहरु कमेडी फिल्म मात्र नबनाउने बताइन् । उनले भनिन् ‘हामी चल्ने र विक्ने फिल्म बनाउँछौं । अब एउटा पूर्ण फिल्म बनाउने कोशिश गर्छौं ।’ चलचित्रका कलाकार केदार घिमिरेले चलचित्र निकै नै उत्कृष्ट बनेको बताए । त्यस्तै हास्यकलाकार जितु नेपालले यसपटक आफूले गम्भीर भूमिका निर्वाहा गरेको बताए ।

‘हाँस्न त हाँस्छन् तर मैले यसपाली हसाउनकै खातिर मैले अभिनय गरेको छैनँ’, जितुले भने । उनी फिल्ममा शिक्षकको भूमिकामा छन् । अभिनेत्री दीपिका प्रसाईँ भने कमेडियनहरुको हुलमुलमा आफू हराउने डर नभएको बताएकी छिन् । पहिलो पटक दीपक–दीपा क्याम्पमा भित्रिएकी अभिनेत्री प्रसाईँ भन्छिन् ‘ऐश्वर्य’ भन्दा ‘छक्का पञ्जा ३’ मा भूमिका आकाश–जमिनको फरक छ । भूमिका बलियो भएरै काम गरेको हुँ । कसैको कारण छाँयामा पर्छु भन्ने डर छैन ।’ फिल्ममा उनको जोडी दीपकराज गिरीसँग बाँधिएकोे छ ।

चलचित्र निकै नै प्रतिक्षित रहेका कारण प्रदर्शन अगावै अर्थात सोमबारबाटै चलचित्रको टिकट विक्रि थालिएको थियो । दर्शकको माग बढी देखिएकै कारण मल्टिप्लेक्समा सोमबार साँझबाटै बुकिङ खुलाइएको हो । देशभरका अधिकांश सिंगल पर्दामा रिलिज हुने फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शोज हात पारेको छ । गएको वर्ष फिल्म ‘छक्का पञ्जा २’ लाई क्युएफएक्सले २६ शोज बाँडेको थियो । अहिलो ३० शोज पाएको छ ।

क्युएफएक्स अन्तर्गतको लबिम र सिभिल हलमा फिल्मको अग्रिम टिकट रिजर्भ गर्ने दर्शक बढी देखिएका थिए । चलचित्रलाई क्यूज सिनेमाले प्रदर्शनको पहिलो दिन ११ शोज, विएसआर मुभिजले १२ शोज, सिडिसी सिनेमाले १० शोज, विग मुभिजले १० शोज र एफक्यूबले ११ शोज बाँडेको छ ।

फिल्मलाई सेन्सर बोर्डले सबै उमेर समुहका दर्शकले हेर्न मिल्ने सर्टिफिकेट प्रदान गरिसकेको छ । फिल्मको कथा दीपकराज गिरीले लेखेका हुन् । फिल्ममा उनीसँगै दीपिका प्रसाईँ, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की, बर्षा राउत, संजोग कोइराला लगायतका कलाकारहरुको अभिनय छ ।