छातीमा श्रीमतीको ट्याटु, अनुहारमा कुरुप हुनेगरी एसिड प्रहार

title
बिहिबार, जेष्ठ २, २०७६

गजेन्द्र बस्नेत

एसिड आक्रमणको विदारक घटना

काठमाडौं । बुधबार राति, काठमाडौंको कालोपुलमा २२ बर्षीया जोनी खड्कामाथि एसिड आक्रमण भयो । अक्रमणमा परी घाइते जेनीको अहिले कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ । उनीमाथि एसिड प्रहार भए लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंको टोली एसिड प्रहार गर्ने व्यक्तिको खोजीमा जुटेको थियो । परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार, घटनाको केही घण्टामै प्रहरीले एसिड आक्रमणको आरोपमा उनकै श्रीमान विष्णु भुजेललाई पक्राउ गर्‍यो ।

उनले आपसी विवादमा श्रीमतीमाथि एसिड प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले भुजेललाई नियन्त्रणमा लिंदा उनको कपडा एसिडले जलेको अवस्थामा भेटिएको थियो । एसएसपी सुवेदीका अनुसार, विष्णु र जेनीबीच पाँच वर्षअघि विवाह भएको थियो ।

रिसले चुर भएका व्यक्तिले महिलालाई कुरुप तथा अंगभंग बनाउने गरी एसिड आक्रमण गर्ने गरेको पाइन्छ 

तर, विष्णुले दोस्रो विवाह गरेका कारण केहि समय अघिदेखि जेनी माइतमा बस्दै आएकी थिइन । घटनाका बारेमा जानकारी दिँदै एसएसपी सुवेदीले भने, ‘विष्णुले जेनीलाई सँगै बस्न बोलाउने गरेको तर, उनको दोस्री श्रीमती भएको भन्दै माइतमा नै बसेकाले दुई बीचमा विवाद शुरु भएको थियो । विष्णुले आफूले भनेको नमानेपछि केही दिन अगाडिदेखि नै एसिड हान्ने योजना बनाएको हामीलाई बताएका छन् ।’

केहि अघिदेखि बनाएको योजना अनुसार विष्णुले बुधबार राति ८ बजे जेनीलाई बोलाएर आक्रमण गरेको प्रहरीसँगको बयानमा भनेका छन् ।

छातीमा जेनीको मुहार, अनुहारमा क्रोधको एसिड

विष्णुले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीर अनुसार, उनको छातीमा जेनीको अनुहारको ट्याटु बनाएको देखिन्छ । केहि दिन अघि मात्र उनिहरु दुबै जनालेसँगै रहेको तस्बिर समेत फेसबुकमा पोष्ट राखेका थिए । तर, फेसबुकमा सुमधुर सम्बन्ध देखिएपनि वास्तविकता फरक भेटियो ।

विष्णुले आफ्नै श्रीमतीमाथि एसिड प्रहार गरी जीवन मरणको दोसाँधमा पुर्‍याई दिए । यो त एसिड आक्रमणको पछिल्लो घटना मात्रै हो । नेपालमा एसिड आक्रमणका घटना पटक पटक दोहोरिएका छन् । नेपालमा भएका एसिड आक्रमणका घटनामा सबैभन्दा धेरै युवती तथा महिला पर्ने गरेका छन् । कहिले दाइजोको बहानामा त कहिले प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एसिड प्रहार भएका छन् । अहिले श्रीमानश्रीमतीबीचको मनमुटावले पनि एसिड प्रकरण दोहोरिएको छ ।

एसिड आक्रमणलाई अपराधको रुपमा परिभाषित गरिएपनि यसको बिक्री वितरण, ओसारपसारको नियमन तथा नियन्त्रण गर्ने विषयमा कानूनी  प्रबन्ध भएको पाईदैन 

किन हुन्छ महिलामाथि एसिड आक्रमण ?

एसिड आक्रमणका विभिन्न हिंसाजन्य घटनाहरूको अध्ययन गर्दा यस्ता अपराधहरू प्रायजसो महिलालाई चरम यातना, पीडा दिने उद्देश्यले हुने गरेको पाइएको छ । रिसले चुर भएका व्यक्तिले महिलालाई कुरुप तथा अंगभंग बनाउने गरी एसिड आक्रमण गर्ने गरेको पाइएको छ । राष्ट्रिय मानव अधिकार आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार, किशोरी तथा युवतीहरूको टाउको र अनुहारलाई बढी लक्षित गरी धेरैजसो एसिड प्रहार हुने गरेको पाईन्छ ।

यस्तो छ नेपालको एसिड आक्रमणको घटना

प्रहरीको तथ्याङ्क हेर्ने हो भने पछिल्लो ४ बर्षमा १३ भन्दा बढि एसिड आक्रमणका घटना सार्वजनिक भएका छन् । ओरेकको तथ्याङ्क हेर्दा पछिल्लो १ बर्षमा ७ वटा एसिड आक्रमणका घटना भए । धेरै जसो एसिड आक्रमण अनुहार लक्षित गरेर भएका छन् । कसैले प्रेम वा यौन प्रस्ताव अस्वीकार गर्दा घमण्ड देखाएको भन्दै बदलाको भावले एसिड प्रहार भएको पीडकहरुले बयानका क्रममा भन्ने गरेको प्रहरीको दाबी छ ।

एसिड आक्रमण गर्नेलाई कसुर हेरी पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ

कानूनी प्रावधान

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा १९३(२) मा कसुर गर्ने व्यक्तिलाई कसुरको प्रकृति हेरी अनुहार कुरुप पारेमा पाँच वर्षदेखि आठ वर्षसम्म कैद र एक लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र शरीरको अन्य अङ्ग कुरुप पारेमा वा शरीरमा पीडा पुर्‍याएमा तीन वर्षदेखि पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि तीन लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र ५० हजारदेखि एक लाख ५० हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ ।

जरिवानाको रकम पीडितलाई दिइने ऐनमा उल्लेख छ। एसिड प्रहारबाट मृत्यु भएमा ज्यानसम्बन्धी मुद्दा लगाउने गरिएको छ । मृत्यु नभई अङ्गभङ्ग भएमा वा अरु केही भएमा घटना प्रकृति हेरेर यही ऐन अनुसार कानुनी प्रक्रिया अघि बढाउन सकिन्छ ।

एसिड आक्रमणलाई नेपालमा अपराधको रुपमा परिभाषित गरेता पनि एसिडको बिक्री वितरण, ओसारपसारलाई नियमन तथा नियन्त्रण गर्ने तथा अनुगमन गर्ने सम्बन्धमा खास कानूनी प्रबन्ध भएको पाईदैन ।