छिटै जनवर्गीय संघसंगठनको एकता प्रक्रिया टुङगो लाग्ने : (नेकपा) अध्यक्ष दाहाल

title
शुक्रबार, असार २९, २०७५

कृष्ण आचार्य/चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले साउन महिना भित्र सबै जनवर्गीय संघसंगठनको एकता प्रक्रिया टुङगो लाग्ने बताउनुभएको छ ।

आज भरतपुरस्थित कृष्णपुरमा शारदा घरदैलो प्रतिभा प्रवाहको १ सय ५३औं श्रृंखला शारदा स्मृति पुरस्कार तथा डिल्लीराम धनसरा प्रतिभा पुरस्कार वितरण समारोह एवं खुशीराम पाख्रिनको सम्मानमा आयोजित अभिनन्दन तथा साँस्कृतिक कार्यक्रममा अध्यक्ष दाहालले प्रदेश, जिल्ला र स्थानीय तहसम्म एकता प्रक्रिया पुरा गरी नयाँ अध्याय सुरु गरिने बताउनुभएको हो ।

साउनमा सबै एकता प्रक्रिया सकिएपछि भदौं र असोज महिनामा देशैभर केन्द्रबाटै प्रशिक्षण तथा स्कूलिङ कार्यक्रम गरिने उहाँको भनाई छ । अध्यक्ष दाहालले सरकारले गरेका हरेक सकरात्मक कुराहरुलाई जनतामाझ पु¥याउन सबै एक भएर लागि पर्ने बताउनुभयो । उहाँले सरकारका नकरात्मक कुरालाई भने सचेत गराउनुपर्नेमा जोड दिनुभयो ।

अध्यक्ष प्रचण्डले देशमा ७० बर्षपछि प्राप्त राजनैतिक स्थायित्व विगार्न खोज्ने तत्वहरु सक्रिय भएको आरोप लगाउनुभयो । देशलाई अस्थिरता तर्फ लैजान खोज्ने र वितण्डा मच्चाउन खोज्नेहरुलाई सबै मिलेर परास्त गर्नुपर्ने प्रचण्डको भनाई छ ।