छिट्टै इट्टा उद्योगमा बालश्रमको प्रयोग अन्त्य हुनेछ : श्रममन्त्री बिष्ट

title
सोमवार, साउन १४, २०७५

काठमाडौं । मुलुकभरका इट्टा उद्योगहरुमा बालश्रमको प्रयोग अन्त्य हुने भएको छ ।

सिंहदरबारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र नेपाल ईट्टा भट्टा उद्योग महासंघले संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दे इट्टा उद्योगहरुमा बालश्रमको प्रयोग अन्त्य गर्ने घोषणा गरेका हुन् ।

मन्त्रीपरिषद्बाट हालै स्वीकृत बालश्रम निवारण सम्बन्धी राष्ट्रिय गुरुयोजनाको सफल कार्यान्वयनका लागि इट्टा उद्योगहरुमा बालश्रमको प्रयोग अन्त्य गर्न लागिएको मन्त्रालयले जनाएको छ । उक्त गुरुयोजनामा बिक्रम संवत २०७९ सम्ममा अमर्यादित र शोषणयुक्त बालश्रम अन्त्य गर्ने तथा २०८२ सम्ममा सबै किसिममा बालश्रम निवारण गर्ने लक्ष्य राखिएको छ ।

नेपाल ईट्टा भट्टा उद्योग महासंघले उक्त लक्ष्य हांसिल गर्न मुलुकभरका ईट्टा उद्योगमा कुनैपनि प्रकारको बालश्रमको प्रयोग गर्न नपाउने प्रतिवद्धता जनाएको छ । पत्रकार सम्मेलनमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले अझै पनि केहि जिम्मेवार क्षेत्रमा बालश्रमको प्रयोग भईरहेको जानकारी आएको भन्दै यस बिषयमा सरकार कडा रुपमा प्रस्तुत हुने बताउनुभयो ।

त्यस्तै नेपाल ईट्टा भट्टा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले ईट्टा उद्योगमा बालश्रम अन्त्य गर्न आफुहरुले निकै अघि निर्देशन दिएपनि कार्यान्वयन नभएको भन्दै अव कुनै पनि उद्योगमा बालश्रम राख्न नपाउने निर्णय गरेको जानकारी दिनुभयो ।

हाल मुुलुकभर करिव ११ सय ईट्टा उद्योगहरु सञ्चालनमा छन् भने करिब एकसय १० वटा उद्योगहरु काठमाडौं उपत्यकामा रहेका छन् जसमा अझैपनि सयौं बालबालिकाहरु आवद्ध छन् ।