छोरा प्रकाशलाई सम्झदै भक्कानिए प्रचण्ड

title
सोमवार, मंसिर ३, २०७५

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन । ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं भक्कानिनु भएको हो । उहाँले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो राष्ट्र र सबैको सहयोगमा आफू दुवै सम्हाल्न सफल भएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष दाहाल ‘छोराको असमायिक निधन भएको’ भनिरहँदा भक्कानिनु भएको थियो । उहाँले प्रधानमन्त्री केपी ओलीले सम्हालिन गरेको आग्रहलाई स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर राष्ट्रहितको निरन्तर लागि रहने प्रण पनि गर्नु भयो । त्यस अवसरमा अध्यक्ष दाहालले देश, जनता र पार्टी नेता तथा कार्यकर्ताहरुले साथ नदिएको भए आफ्नो परिवार विघटन हुनसक्थ्यो भनिरहँदा सभा स्तब्ध भएको थियो । उहाँले परिपक्व हुँदै गएका छोरा प्रकाशको असमायिक निधनले ठूलो क्षति पुगेको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा दाहालसँगै रहनु भएकी पत्नी सिता सभाभर भावविह्वल अवस्थामा रहनु भएको थियो । मंचमा रहेकी सितालाई छोरीहरुले सम्हाल्नु परेको थियो । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मृति ग्रन्थ पनि बिमोचन गर्नु भएको थियो । कार्यक्रमा अध्यक्ष दाहालले स्मृति सभामा सहभागी हुनु भएका सबैप्रति आभार व्यक्त गर्नु भएको थियो । एक वर्ष अघि दाहालका एक मात्रै छोरा प्रकाशको हृदयघातका कारण निधन भएको थियो ।