जनआन्दोलनका घाइते मुकेश १३ वर्षदेखि उस्तै

title
बुधबार, बैशाख ११, २०७६

बनेपा-जनआन्दोलन विसं २०६२/६३ को क्रममा घाइते भएका काभ्रेपलाञ्चोकको बनेपाका मुकेश कायस्थ अझै पनि अर्धचेत अवस्थामा नै छन् ।

जनताको बलमा स्थापना भएको लोकतान्त्रिक गणतन्त्र स्थापना भएर सङ्घीयताको मूल मर्मअनुसार तीन तहको सरकार गठन भएर सेवा प्रवाह भइरहेको अवस्थामा लोकतन्त्र स्थापना गर्न आन्दोलनमा होकिएका जनआन्दोलनका घाइतेको अवस्था भने उस्तै रहेको जनआन्दोलनका घाइते मुकेशकी आमा मिरा कायस्थले बताइन ।

विसं २०६२/६३ का जनाआन्दोलनको क्रममा २०६२ चैत्र २७ गते बनेपामा गोली लागेर घाइते भएका मुकेश कायस्थ अहिले पनि ओछ्यानमा नै छटपटिरहेका छन् । आमा मीरा कायस्थले पछिल्लो पटक गरेको शल्यक्रियाबाट पनि उनको सुधार नभएको बताइन।

उपचारको क्रममा अहिलेसम्ममा तीन पटक टाउकाको शल्यक्रिया गरिसकेको उनको भनाइ छ । ‘असार महिनामा शल्यक्रिया भएपछि पनि अवस्था उस्तै छ ।’ मीराले भनिन्, ‘मंसिरमा अप्रेशन गरे, खासै सुधार देखिएको छैन ।’ मुखले खाने र हाँस्ने जस्ता काम अहिले गर्न नसकेको उनले बताए ।

अहिलेसम्म पनि उपचारको सबै खर्च सरकारले नै ब्यहोर्दै आएको भए पनि सङ्घीय संरचनाअनुसार जिल्लामा रहेको जनस्वास्थ्य कार्यालय प्रदेशअन्तर्गत रहने भएपछि उपचारको लागि व्यवस्था हुँदै आएको नर्सको सुविधा नभएको उनको भनाइ छ ।

उनका लागि स्वास्थ्य मन्त्रायलयबाट जिल्ला जनस्वास्थ्य कार्यालय हुँदै आउनुपर्ने सुविधा जिल्ला जनस्वास्थ्य कार्यालय अहिले प्रदेशअन्तर्गत भएपछि भएको फेरबदलका कारण करीब एक वर्षभन्दा बढी समय गुज्रदा पनि उपलब्ध हुँन नसकेको उनको भनाइ छ ।