जन्मदिनमा बोलाएर बलात्कार

title
शुक्रबार, अशोज २६, २०७५

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा बालिका सामूहिक बलात्कारमा परेकी छिन् । साथीको जन्मदिनमा जाँदा १३ वर्षीया बालिका बलात्कृत भएकी हुन् । जन्मदिनमा बोलाएकी साथीकै सहयोगमा बलात्कार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीले बलात्कार आरोपमा पीडितकी साथीलगायत तीन जनालाई नियन्त्रणमा लिएको छ । पथरीशनिश्चरेमा अरूको संरक्षणमा बस्दै आएकी बालिकालाई मंगलबार साथीले जन्मदिनको अवसरमा बोलाएको प्रहरी निरीक्षक कमल बजगाईंले बताए ।

‘कक्षा ६ मा अध्ययनरत बालिका साथीको जन्मदिन मनाउन उनको घर पुगेपछि गाउँबाट टाढा जंगलमा रहेको मन्दिरमा पूजा गर्न भन्दै लगिएको थियो,’ उनले भने, ‘मन्दिरमा पूजा गरी जन्मदिन मनाउने क्रममा बालिकालाई घरेलु मदिरा खुवाएर दुई जनाले रातभर बलात्कार गरेको भनेर संरक्षकले जाहेरी दिएका छन् ।’

बलात्कार आरोपमा पीडितकी साथी १५ वर्षीया बालिका, पथरीशनिश्चरे १ का २२ वर्षीय मनोज राई र वडा ९ का २३ वर्षीय राजकुमार माझीलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराई अनुसन्धान सुरु गरेको उनले बताए ।