जब मदनकृष्णले करिश्मासँग कम्मर मर्काए

title
बिहिबार, मंसिर २०, २०७५

काठमाडौं । मदनकृष्ण श्रेष्ठ र करिश्मा मानन्धर पुराना कलाकार हुन् । अझ मदनकृष्ण उमेरले झण्डै ७० वर्षको हाराहारीमा पुगिसके । तर, अभिनयमा उनको सक्रियता अझै कम भएको छैन । कलाकारिता एउटा पाटो छँदैछ, तर उनी सार्वजनिक कार्यक्रममा पनि उनी उत्तिकै सक्रिय छन् । यता करिश्मा मानन्धर पनि नेपाली चलचित्रकी कुनै वेलाकी निर्वाध अभिनेत्री थिइन् । उनको चलचित्र यात्रा अझै निरन्तर जारी छ । हालै एउटा कार्यक्रममा यी दुवैजना स्टेजमा पुगेर नाचेपछि उपस्थित दर्शक रमाएका थिए ।

त्यसो त मदनकृष्ण श्रेष्ठ पछिल्लो समय सत्रुगते चलचित्रमा देखिएका थिए उनलाई पुनः मह सञ्चारको नयाँ फिल्म ’दाल भात तरकारी’मा समेत देख्न पाइनेछ । उनी अहिले पनि आफू अभिनयमा सक्रिय हुनुको श्रेय हरिवंश आचार्यलाई लिन्छन् । उनी भन्छन् ‘ऊ मेरो भाई मात्र होइन मेरो अभिभावक पनि हो । ऊ नभएको हुन्थ्यो भने म धेरै पहिला थाकिसक्थेँ । जब उसलाई हेर्छु मलाई उर्जा आउँछ ।’ मदनकृष्ण र हरिवंशको सहयात्रा ४ दशकदेखि अनवरत छ । मंगलबार चलचित्र ‘छक्का पञ्जा ३’ को ५१ औं दिने सक्सेस पार्टीमा उनी पुगेका थिए । हरिवंश फिल्मको छायांकनमा व्यस्त भएका कारण मदनकृष्णले दुवैजनाको उपस्थितिलाई पूर्ण बनाउने काम समेत गरे ।

मदनकृष्णको उपस्थिति मात्रले पनि फिल्मको सक्सेस पार्टीमा बेग्लै रौनकता छायो । ‘छक्का पञ्जा ३’ ले हासिल गरेको सफलता समग्र नेपाली फिल्म क्षेत्रको उपलब्धि रहेको बताउँदै हरेक नेपाली फिल्मले ५१ औं दिन मनाउनु पर्ने उनले बताए । उनले फिल्मको सफलताको सेलिब्रेसनमा नृत्य पनि गरे ।

निर्देशक दीपाश्री निरौलाले हात समातेर तानेपछि उनी विरालो चालमा नाच्न थाले । स्टेजमा संगीतकार तथा गायक राजनराज सिवाकोटी ‘सुर्के थैली…’ गीत गाइरहेका थिए । केही बेरमा मदनकृष्णलाई साथ दिन अभिनेत्री करिश्मा मानन्धर पनि अगाडि सरिन् । सदाबहार नायिका सामुन्ने भएपछि मदनकृष्ण रोमान्टिक बनेका थिए । उनले करिश्माको हात समातेर एकफेरो घुमे । अनि, करिश्मालाई पनि एकफन्को घुमाए । दुई कलाकारको नाचमा नीर शाह, दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, जितु नेपाललगायतले पनि साथ दिएका थिए ।

मंगलबार बबरमहलस्थित एक पार्टी प्यालेसमा रात्रि भोजको आयोजना गर्दै छक्का पञ्जा २ टिमले एकाउन्न दिनको पार्टी गरेको हो । ‘छक्का पञ्जा ३’ को ५१ दिने पार्टीमा फिल्म युनिट सहित, फिल्मकर्मी र सञ्चारकर्मीको बाक्लो उपस्थिति थियो । रेड कार्पेट सहितको भव्य कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, करिश्मा मानन्धर लगायत थुप्रै कलाकर्मी उपस्थित थिए ।

‘छक्का पञ्जा ३’ टिमको तर्फबाट निर्देशक दीपाश्री निरौला, लेखक, निर्माता तथा अभिनेता दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, निर शाह, लक्ष्मी गिरी, नायिका स्वस्तिमा खड्का, वर्षा राउत, संगीतकार दीपक शर्मा लगायत कार्यक्रममा उपस्थित थिए । फिल्मकी मुख्य नायिका दीपिका प्रसाईं भने कार्यक्रममा उपस्थित भइनन् । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र करिश्मासँगै भुवन केसी, छविराज ओझा, विनोद मानन्धर, सन्दिप क्षेत्री, सिताराम कट्टेल, कुञ्जना घिमिरे, निशान भट्टराई, निर्मल शर्मा, बसुन्धरा भुषाल, संगीतकार राजनराज सिवाकोटी लगायत पुगेका थिए ।

उनीहरुले फिल्मको सफलताको लागि बधाई दिएका थिए । कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिकलाई मायाको चिनो र सञ्चाकर्मीलाई प्रमाण पत्र प्रदान गरियो । कलाकारद्वाय जितु नेपाल र केदार घिमिरेले संयुक्त रुपमा पाहुनालाई स्वागत गरेका थिए ।