जाजरकोटबाट हाब्रेको छालासहित दुई जना पक्राउ

title
सोमवार, पुस २३, २०७५

बद्री पन्त/जाजरकोट । जाजरकोटमा प्रहरीले हाब्रेको छालासहित दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीले हाब्रेको छाला सहित नलगाड नगरपालिका ५, कालिमाटीका २५ बर्षीय गणेश सुनार र सोही ठाउका २५ बर्षीय युवराज बिकलाई पक्राउ गरेको हो । हाब्रेको छाला खरिद बिक्री तथा ओसार÷पसार हुन लागेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भेरी नगरपालिका ३, ठाँटीबजारमा सुनार र विकलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रविन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

पक्राउ परेका विक र सुनारलाई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाहीको लागि आइतवार डिभीजन वन कार्यालयमा बुझाएको सिंहले बताउनुभयो ।

साइटिस महासन्धि, १९७५ र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले दुर्लभ वन्यजन्तुको चोरी शिकारी तथा वन्यजन्तुका आखेटोपहारको गैरकानूनी ओसारपसारलाई पूर्ण बन्देज लगाएको छ ।

बारेकोट गाउँपालिका, कुशे गाउपालिका र नलगाड नगरपालिकाको उच्च भेकमा विश्वकै दुर्लभ रेडपाण्डाको बास स्थान रहेको डिभीजनल बन अधिकृत अहमतले बताउनुभयो ।