जाजरकोटमा तीन जनाको भीरबाट लडेर मृत्यु

title
सोमवार, जेष्ठ २७, २०७६

-बद्री पन्त
जाजरकोट । जाजरकोटमा भीरबाट लडेर तीन जनाको मृत्यु भएको छ । बन लसुन खोज्न जंगल गएका दुई सहित तीन जनाको भीरबाट लडेर मृत्यु भएको हो ।

बन लसुन खोज्न जङ्गल गएका बारेकोट–५ तोलखानाका १६ बर्षीय भीमराज शाही र १७ बर्षीय नवराज सिंहको मृत्यु भएको हो । त्यस्तै घर निर्माणका लागी जंगलमा काठ काट्न गएका बारेकोट–५, करुकागाउँका ४० बर्षीय पृथीबहादुर बस्नेतको भीरबाट लडेर मृत्यु भएको हो ।

बारेकोट–४ स्थित कराईचुला लेकमा पुगेका भिरालो जमिनमा लसुन खन्ने क्रममा चिप्लिएर भीरबाट खस्दा उनीहरुको घटना स्थलमै मृत्यु भएको बारेकोट गाँउपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताउनुभयो । भीमराज स्थानिय विरेन्द्र मावि लिम्सामा ९ कक्षामा अध्ययनरत छात्र हुन् । नवराजले सोही विद्यालयबाट यसै बर्ष एसईई परीक्षा दिएका हुन् ।

बारेकोटको लेकाली जंगलमा पाईने बन लसुन एक प्रकारको जडिबुटी हो । जंगलमा संकलन गरेको लसुन विक्रि गरेर राम्रो आम्दानी हुने भएपछि बारेकोटका स्थानीय जोखिम मोलेर लेकतिर जाने गरेको अध्यक्ष शाहले बताए ।

बन लसुन प्रतिकेजीको ३२ हजार रुपैयाका दरले विक्री हुने गरेको छ । निकै महँगोमा विक्री हुने भएकोले बन लसुन संकलन तर्फ स्थानीयको आकर्षण बढेको अध्यक्ष शाहको भनाई छ ।

बारेकोट गाँउपालिकामा एक सातामा भीरबाट लडेर ४ जना र दुुई जना यार्सा संकलनको क्रममा लेक लागेर मृत्यु भएको गाँउपालिकाले जनाएको छ ।