जाजरकोटमा भीषण पहिरो २ घर पुरिए, केही फसेको आशंका

title
आइतवार, साउन २०, २०७५

जाजरकोट । अविरल वर्षासँग गएको पहिरोबाट जाजरकोटमा २ घर पुरिएका छन् । गएराति गएको पहिरोबाट भेरि नगरपालिका ३ थाति बजारमा पहिरो गएको हो ।

पहिरोले स्थानीय जीतबहादुर सुनुवार र तिर्थ राज बोहोराको घर पुरिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । पहिरोले घर पुरिँदा केही मानिसहरु पुरिएको हुनसक्ने आशंका गरिएको भए पनि अहिलेसम्म एकिन तथ्यांक भने आइनसकेको प्रहरीले जनाएको छ । पहिरोका कारण सो क्षेत्रमा दर्जन बढी घर उच्च जोखिममा रहेको प्रहरीले जनाएको छ ।

यसैबीच, आगामी तीन दिनसम्म वर्षा जारी रहने मौसमविदले अनुमान गरेका छन् । आइतबार र सोमबार भारी वर्षा तथा मंगलबार मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मौसम विज्ञान विभागले आजदेखि तीन दिनसम्म मौसम पूर्वानुमानबारे सूचना जारी गर्दै मंगलबारसम्मै पानी पर्ने जनाएको हो ।

मंगलबार भने पूर्वी स्थानमा मध्यमखालको वर्षा हुने अनुमान गरिएको छ । मंगलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली हुने मौसम विज्ञान विभागले जनाएको छ ।