जाजरकोट पहिरो अपडेटः ४ जनाको मृत्यु

title
आइतवार, साउन २०, २०७५

जाजरकोट । जाजरकोटको भेरी नगरपालिका–३ मा पहिरोले घर पुरिदा ४ जनाको मृत्यु भएको छ । गएरातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले घर पुरिँदा एक महिलासहित ४ जनाको मृत्यु भएको हो । मृतकहरुको सनाखत भएको छैन ।

गएरातिदेखि परेको अविरल वर्षाका कारण स्थानीय तीर्थ राज बोहराको घर पुरिंदा उनकी छोरी ५ बर्षीय नज्मा बोहराको मृत्यु भएको हो । अन्य मृतकको भने सनाखत हुन बाँकी रहेको छ । पहिरोले उक्त घरमा डेरा गरी बस्ने एकै परिवारका ४ जना र स्थानीय जीतबहादुर सुनारको घरमा बस्ने ४ जना बालक पहिरोमा पुरिएको जनाइएको छ ।

पहिरोमा पुरिएका ३५ बर्षीय लालबहादुर लुहारको भने जिवितै उद्धार गरीएको छ । उनको जाजरकोट अस्पतालमा उपचार भैरहेको छ ।  २५ बर्षीय सितला लुहार, ६ बर्षीय सम्झना विक, ३ बर्षीय मनिसा विक, ९ बर्षीय भगवती विक, १२ बर्षीय गोविन्द परियार, ६ बर्षीय दशरथ परियार, १२ बर्षीय नरेन्द्र परियार र १० बर्षीय नबीन परियार पहिरोमा पुरिएको निमित्त प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद खतिवडाले बताउनुभयो ।

पहिरोमा पुरिएकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय लगायतले उद्धार जारी राखेको छ । पहिरो दुई घर पुरिएका हुन् भने सो क्षेत्रका दर्जन बढी घर पहिरोको जोखिममा रहका छन् ।