‘जात्रै जात्रा’ ३५ लाखमा बिक्यो

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । चलचित्र ‘जात्राको अपार सफलता पछि फिल्म युनिट यतिबेला सिक्वेल चलचित्र ‘जात्रै जात्रा’को छायांकनमा ब्यस्त छ । केही दिन अघि मात्रै टिजर सार्वजनिक गरेर फ्लोरमा गएको चलचित्रको अष्ट्रेलियाको राइट्स ३५ लाखमा बिक्री भएको खबरले चर्चा पाएको छ ।

टिजर सार्वजनिक भएसँगै फिल्म जात्रै जात्राको विभिन्न देशमा प्रर्दशनका लागि सम्झौता हुन सुरु भएको हो । फिल्मको छायाँकन शुरु भएसँगै अष्ट्रेलियामा प्रर्दशन गर्नका लागि ३५ लाख रुपैयाँमा सम्झौता भएको जनाइएको छ ।

जात्रै जात्राको टिजरमा दर्शकले दिएको उत्साहजनक प्रतिक्रिया र फिल्म जात्राको रिपोर्ट हेरेर जात्रै जात्रा अष्ट्रेलियामा प्रर्दशनका लागि सम्झौता गरिएको इभेन्ट रपपअप इन्टरटेन्मेन्टका आयोजक मध्येका एक चिरन श्रेष्ठले जानकारी दिए ।

पहिलो फिल्मले दर्शकको मन जितेको र जात्रै जात्राको टिजरले पनि सकारात्मक प्रतिक्रिया पाएकाले फिल्म प्रर्दशनका लागि ३५ लाख रुपैँया लगानी गरेको उनको भनाइ छ । निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँका अनुसार अन्य देशहरुमा पनि प्रर्दशन सम्झौताका लागि कुरा भैरहेको छ ।

यस्तै, ब्राण्डहरुसंगको सहकार्य र विदेश राइटको बिक्री आँकलन गर्दा फिल्मको छायाँकन नसकिँदै नाफामा जाने निर्देशक प्रदीप भट्टराइको दाबी छ । अहिले अष्ट्रेलिया नेपाली फिल्मको लागि दोस्रो ठूलो प्रतिफल दिने देशमा गनिन्छ । त्यस पछिका देशहरुमा अमेरिका, बेलायत, कोरिया, हंगकंग र जापान रहेका छन् ।

निर्देशक भट्टराइको अघिल्लो फिल्म जात्राले अष्ट्रेलियामा राम्रो दर्शक पाएको थियो भने पछिल्लो फिल्म शत्रुगतेले सिड्नीमा मात्र १७ शो र अष्ट्रेलियाभर ४० भन्दा बढी हाउसफुल शो गर्न सफल भएको थियो । षट्कोण आर्टस् प्रालिको ब्यानरमा निर्मित जात्रै जात्रा यहि फागुन १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

फिल्ममा रविन्द्र सिंह बानियाँसँगै यादव पौडेल र सिंगे लामाको लगानी रहेको छ । फिल्ममा निर्माता बानियाँसँगै बिपिन कार्की, बर्षा राउत र रविन्द्र झाको मुख्य भूमिका रहेको छ । नेपालमा यो फिल्म फागुन १७ गतेदेखि प्रदर्शन हुँदैछ ।

चलचित्र अष्ट्रेलियामा प्रदर्शन गर्नको लागि ३५ लाखको सम्झौता भएको निर्देशक प्रदिप भट्टराईले सामाजिक सन्जाल फेसबुक मार्फत समेत जानकारी दिएका छन् । चलचित्र सन् २०१९ मार्चमा अष्ट्रेलियाको मुख्य शहर सिड्नीमा प्रदर्शन हुने भएको छ ।