जानकी नवमीको अवसरमा आज प्रदेश २ मा सार्वजनिक बिदा

title
सोमवार, बैशाख ३०, २०७६

धनुषा । जानकी नवमीको अवसरमा आज प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएको छ । जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति जारी गर्दै आज परेको जानकी नवमी भव्यता एवं हर्षोल्लासपूर्वक मनाउन बिदाको घोषणा गर्नुभएको हो ।  जनकपुरमा धुमधामसँग मनाइने जानकी नवमी पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैहुनुहुन्छ ।

उहाँले जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ । वैशाख शुक्ल नवमीको दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी धुमधामसँग मनाउने गरिन्छ ।