जापानसँग नेपाल पराजित

title
बुधबार, साउन ३०, २०७५

एसियाड खेलको औपचारिक उद्घाटन शनिबारबाट
काठाडौं । नेपाली यु–२३ फुटबल टोली जाकार्ता र पालेङवाङ एसियाड अन्र्तगत पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा एसियाली पावर हाउस जापानसँग पराजित भएको छ । नेपाली यु–२३ टिम जापानको यु–२३ टिमसँग १–० ले पराजित भएको हो ।

यससँगै नेपाल एसियाडमा जापानसँगको चौथो भेटमा पनि पराजित हुन पुग्यो । सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियन गेम्स र सन् १९९२ मा थाइल्याण्डमा भएको एसियन गेम्समा नेपाल जापानसँग समान ५–० ले पराजित भएको थियो । सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियन गेम्समा नेपाल ४–० ले पराजित भएको थियो ।

सिकाराङस्थित विबावा मुक्ति रंगशालामा मंगलबार भएको समूह ‘डी’ को पहिलो खेलमा नेपाल खेलको सातौ मिनेटमा नै पछि परेको थियो । जापानका लागि मिटोमा काउरुले सातौ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अन्ततः त्यही गोल नै नेपालको हारमा निर्णायक बन्यो ।

खेललाई जापानले आफ्नो नियनत्रणमा राखेपनि त्यसपछि थप गोल गर्न सकेन । जापानी फरवार्डले नेपालको बलियो रक्षापङ्ति तोड्न सकेन । नेपालका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । जापानले प्रहार गरेका धेरै प्रहारलाई किपर चेम्जोङ गोल हुनबाट जोगाएका थिए ।

समूह ‘डी’ मा भियतनामले पाकिस्तानलाई ३–० ले पराजित गरेर दोस्रो चरण पुग्ने सम्भावना बलियो बनाएको छ । एसियन गेम्सको औपचारिक उद्घाटन आउदो शनिबारबाट हुने भएपनि फुटबल लगायतका केही खेलहरु मंगलबारबाटै शुरु भएका हुन् । थाइल्याण्डमा १० दिनको विशेष प्रशिक्षण र दुई अभ्यास खेल खेलेर नेपाली टोली एसियाडका लागि इन्डोनेसिया पुगेको हो । नेपालले थाइल्यान्डमा खेलेको दुवै अभ्यास खेलमा पराजय भोगेको थियो ।

ओलम्पिक टोलीमा तीन जना सिनियर खेलाडीले खेल्न पाउने प्राबधान अनुसार नेपाली टोलीमा गोलरक्षक किरण चेम्जोङ, मिडफिल्डरहरु रोहित चन्द र बिशाल राईले टिममा स्थान बनाएका छन् ।

नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गरेका छन् । समूहको दोस्रो खेल नेपालले आगामी बिहीबार भियातनामसँग खेल्नेछ । उक्त खेल नेपाली समयअनुसार साँझ पौने ६ बजेदेखि शुरु हुनेछ । समूह चरणको अन्तिम तथा तेस्रो खेल नेपालले पाकिस्तानसँग बेकासीको प्याट्रियट रंगशालामा खेल्नेछ ।