जाली नोटको जालो : नोट तस्करीमा युनुस-पाकिस्तानी कनेक्सन

title
शनिबार, जेष्ठ ११, २०७६

गजेन्द्र बस्नेत

काठमाडौ : शुक्रबार मात्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पौने ८ करोड भारतीय जाली नोट सहित ६ जनालाई पक्रियो। महानगरीय प्रहरी कार्यालयका अनुसार, पक्राउ पर्नेमा युनुस अन्सारीसहित ३ नेपाली र ३ जना पाकिस्तानी नागकिक छन् । यो त जाली नोट बरामद्को पछिल्लो घटना मात्र हो । नेपाली भूमिमा पटक–पटक भारतीय जाली नोट बरामद् भएका घटना छन् ।

पछिल्लो ५ बर्षमा भएका जाली नोट बरामद्का घटना
 २०७३ जेठ ५ गते, काठमाडौंको विभिन्न स्थानबाट २८ लाख ८८ हजार भारतिय जाली नोट सहित ७ जना पक्राउ
 २०७३ जेठ ८ गते, ३६ लाख भारतिय जाली नोट सहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ जना पाकिस्तानी नागरिक पक्राउ
 २०७४ चैत, ८३ हजार भारतिय जाली नोट सहित कञ्चनपुरको महेन्द्रनगरबाट एकजना पक्राउ
 २०७५ मंसिर, झापाको दमकबाट ९६ हजार भारतिय नक्कली नोट सहित एकजना पक्राउ
 २०७६ जेठ १० गते, काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७ करोड ६७ लाख ९४ हजार भारतिय जाली सहित ३ पाकिस्तानी र तीन नेपाली गरी ६ जना पक्राउ

यसरी पटक–पटक बरामद् भएका जाली नोटको घटना हेर्दा नेपालमा यसको कारोवार भइरहेको कुरा पुष्टि हुन्छ । पूर्वएआइजी नबराज ढकाल पनि नेपाली भूमिबाट भारतीय जाली नोटको कारोवार हुने कुरा स्वीकार गर्छन् । अनुसन्धान अनुसार,  नेपाल भित्रने जाली नोटहरु प्राय हवाईमार्गको बाटो भएर काठमाडौं आउँछन् ।

अनि, काठमाडौंबाट स्थलमार्ग हुँदै भारतीय बजारमासम्म पुग्छन् । अहिलेसम्म बरामद् भएका उदाहारण हेर्दा मुख्य गरी पाकिस्तानी नागरिकहरुले कराँची, ओमान, दोहा लगायत स्थान प्रयोग गरी भारतीय जाली नोट नेपाल भित्र्याउने गरेका छन् । यसमा विभिन्न देशका नागरिकहरुको संलग्नता देखिएको छ ।

नेपाली भूमी ट्रान्जिट
अनुसन्धान अनुसार, विभिन्न स्थानबाट काठमाडौं भित्रीएका जाली नोटमध्ये ९० प्रतिशत भारतीय बजारमा पुग्ने र १० प्रतिशत चाहिं नेपाली बजारमानै कारोवार हुने गरेको छ । नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल भन्छन्, ‘ जाली नोटका कारोवारीहरुले विशेष गरी नेपाललाई ट्रान्जिटका रुपमा प्रयोग गर्न खोजेका छन् ।’

जाली नोट कारोबारमा अन्तर्राष्ट्रिय सञ्जाल
अहिलेसम्मको उदाहारण हेर्दा जाली नोटको कारोवारमा अन्तर्राष्ट्रिय सञ्जालको संलग्नता देखिएको छ । प्रहरीका अनुसार अनुसार, सिंगापुर, मलेसिया, थाइल्याण्ड, यूएई, पाकिस्तान, नेपाल, भारत, वंगलादेश र श्रीलंकामा यसको कारोवार हुने गरेको छ ।