जिप दुर्घटनामा १३ घाइते, गम्भिर घाइतेलाई हेलीकप्टरबाट पोखरा लगीयो

title
आइतवार, माघ २७, २०७५

सन्तोष गौतम, म्याग्दी । म्याग्दीको बेनी देखि रघुगंगा गाउँपालिका ३ मा आइतबार भएको जिप दुर्घटनामा १३ जना घाइते भएका छन् । बेनी देखि भगवतीतर्फ जादै गरेको ग १ ज ५८९९ नम्बरको जिप राहुघाट खण्डको उकालोबाट पाखोमा खसेर गम्भिर घाइते भएकी एक जना गर्भवतीलाई हेलीकप्टर मार्फत पोखरा लगिएको छ ।

पिप्लेकी ३६ वर्षीया सरस्वती परियार (काली)लाई हेलीकप्टर मार्फत पोखराको मणिपाल शिक्षण अस्पताल रिफर गरिएको प्रहरी निरिक्षक लोकबहादुर गुरुङले बताउनुभयो । बेनी अस्पतालका चिकित्सकका अनुसार परियार करिब ३५ हप्ताको गर्भवती भएको अनुमान गरिएको छ ।

रघुगंगा गाउँपालिकाको विपद् व्यवस्थापन कोष मार्फत परियारलाई हेलीकप्टर मार्फत पोखरा लगिएको हो । सात जनाको बेनी अस्पतालमा उपचार भइरहेको र चार जना साझ डिस्चार्ज भएका प्रहरीले जनाएको छ ।

घाइतेहरुमा जलजला गाउँपालिका मल्लजकी २२ वर्षीया सिर्जना जिसी, उनकी छोरी आभान, बेनपा ८ की दुर्गा पौडेल, भगवतीका ५६ वर्षीय कर्णबहादुर कार्की, १५ वर्षीया आरोसी घर्ती, ५३ वर्षीय डिलबहादुर सार्की २९ वर्षीया सम्झना भण्डारी, गोविन्द शर्मा, पिप्लेकी ३१ वर्षीया राजकुमारी मल्ल, ३ वर्षीया सजनी मल्ल, १५ वर्षीय सरोज मल्ल र चालक गोपी परीयार रहेका छन् ।

उकालो र चिप्लो सडकमा ओभरलोड भएको गाडीमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । सडकदेखि १०० मिटर तल खसेको जिप रुखमा अड्कीएको थियो ।