जुनसुकै बेला वित्तीय क्षेत्रमा संकट आउन सक्ने गभर्नर डाक्टर नेपालको चेतावनी

title
शुक्रबार, अशोज १९, २०७५

काठमाडौ । नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले सहकारीका कारण जुनसुकै बेला वित्तीय क्षेत्रमा संकट आउन सक्ने चेतावनी दिनुभएको छ ।

नेपाल आर्थिक पत्रकार समाज सेजनले शुक्रवार काठमाडौंमा गरेको बित्तीय स्थायीत्वका राष्ट्रिय मुद्धा बिषयक छलफलमा नेपालले सहकारी क्षेत्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दा कुनै पनि बेला वित्तीय संकट निम्त्याउन सक्ने बताउनुभएको हो । ठूला कारोबार गर्ने सहकारीहरुको राष्ट्र बैंकले तत्कालका लागि नियमन गरेको भएपनि त्यो धेरै समय सम्भव नभएको उहाँले बताउनुभयो ।

उहाँले सहकारीमा ठूलो पैसा रहेको भन्दै जुनसुकै समयमा वित्तीय क्षेत्रको स्थायीत्व हल्लाउन सक्ने धारणा राख्नुभयो । गर्भनर नेपालले पैसाको कारोबारलाई सधैं कडा नियमन आवश्यक रहेको बताउँदै वित्तीय संस्था भन्दा बाहिर हुने पैसाको कारोबारमा कडाई गर्नुपर्नेमा जोड दिनुभयो । गभर्नर नेपालले वित्तीय स्थायीत्वका लागि नै आफुले बैंक तथा वित्तीय क्षेत्रको पुँजी वृद्धि गरेको तर्क गर्नुभयो ।

त्यस्तै उहाँले बैंक तथा वित्तीय संस्थाहरुको खराब कर्जा जम्मा १ दशमलव ६ प्रतिशत मात्रै रहेको तथ्यांक राख्नुभयो । उहाँले भुक्तानी प्रणालीलाई छिटो छरिटो बनाउने प्रक्रियामा पनि आफुले ध्यान दिएको पनि बताउनुभयो ।