झापामा ‘यौनजन्य हिंसाविरुद्ध टोलटोलमा प्रहरी’ अभियान सुरु

title
सोमवार, भदौ ४, २०७५

 झापा, शिशिर चम्लागाँई । बलात्कार र यौनजन्य हिंसा बढ्दै गएको भन्दै त्यसलाई निरुत्साहित र नियन्त्रण गर्न प्रहरीले झापामा विशेष सुरक्षा परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाले ‘यौनजन्य हिंसाविरुद्ध टोलटोलमा प्रहरी’ नामक अभियानका लागि जिल्लामा विशेष टोली परिचालन गरेको हो । पछिल्लो समय झापामा बलात्कार तथा यौनजन्य हिंसामा बृद्धि भएसँगै प्रहरीले अभियानकै रुपमा यसका विरुद्ध कदम चालेको हो ।

एक महिनासम्म सञ्चालन हुने अभियानमा सादा पोशाक ५०, मोटरसाईकल गस्ति १००, तलाशि लिने टोली ३५, पैदल गस्ती ३५ र अनुसन्धान टोली १५ गरी जिल्ला भरमा २ सय ३५ प्रहरी परिचालन गरिएको छ । अभियानमा टोलटोल पुगेका प्रहरीले यौनजन्य घटना र यसका कारक तत्वहरुको संकलन गरी विश्लेषण गर्ने, घटना हुने र हुन सक्ने ठाँउहरुको पहिचान गरी प्रभावकारी निगरानीका साथ अनुसन्धान गर्ने, पिडित, पिडितका आफन्त र आम नागरिकलाई सुरक्षाको थप अनुभुति दिने, सम्भावित पिडक पहिचान गरी निगरानी र परिचालन मार्फत् निरुत्साहित गर्ने जस्ता कार्यहरु गर्नेछन् ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो एक महिनाको अवधीमा झापामा सात वटा बलात्कार तथा यौनजन्य हिंसाका घटना सार्वजनिक भएका छन् । प्रहरीले यो अभियानबाट बलात्कार तथा यौनजन्य हिंसाका घटनामा मात्र नभई अन्य चोरी, तस्कारी र विभिन्न अपराध नियन्त्रण र निरुत्साहन गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ ।