झुक्याएर गुणस्तरहीन सामान बेचे ५ वर्ष कैद

title
बिहिबार, साउन ३१, २०७५

काठमाडौँ, ३१ साउन । भदौ १ गतेदेखि कार्यान्वयनमा आउन लागेको मुलुकी अपराध संहिता ऐन २०७४ ले अखाद्य पदार्थ बिक्रीवितरण गर्नेलाई कडा कानुनी व्यवस्था गरेको छ ।

झुक्याएर गुणस्तरहीन खाद्य पदार्थ बिक्रीवितरण गर्ने व्यक्तिले ५ बर्ष कैद वा ५० हजार जरिवाना वा दुवै सजाय पाउने भएका छन् । मुलुकी अपराध संहिता ऐनको दफा १०८ मा झुक्यानमा पारी खाद्य पदार्थ बिक्री वितरण गर्न नहुने व्यवस्था गरिएको छ ।

उपदफा १ मा कसैले कुनै एक खाद्य पदार्थलाई अर्को खाद्य पदार्थ हो भनी वा न्यून गुणस्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थलाई उच्च गुणस्तरको खाद्य पदार्थ हो भनी ढाँटी वा झुक्याई वा कुनै उच्च गुणस्तरको खाद्य पदार्थमा निम्न स्तरको खाद्य पदार्थ वा अखाद्य पदार्थ मिसावट गरी बिक्री वितरण गर्न हुँदैन भनिएको छ ।