‘टिन एज’को प्रतिक्षामा प्रतिक्षा

title
बिहिबार, साउन १७, २०७५

काठमाडौं । यही साउन २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘टीन एज’की नायिका प्रतिक्षा खड्काले चलचित्रबाट ठूलो आशा राखेकी छिन् । चलचित्र प्रदर्शनको मिति नजिकिएसँग निर्माण टोली यतिबेला व्यस्त बनेको छ । नायिका प्रतिक्षाले पनि सकेसम्मको समय दिएकी छिन् ।

युवा वर्गलाई लक्षित गरी निर्माण गरिएको चलचित्र टिन एजमा नायिका खड्काले मुख्य पात्रको भूमिका निभाएकी छिन् । उनले चलचित्रको कथावस्तु अनुरुप आफूले अभिनय गरेको बताइन् चलचित्रको नाम टिन एज भएका कारण दर्शकले सोचेजस्तो धेरै ग्ल्यामरस दृश्य भने नभएको जनाइन् । तर, चलचित्र युवाहरूलाई नै केन्द्रित गरी निर्माण गरिएको हुँदा युवावर्गले बढी रुचाउने विश्वास व्यक्त गरिन् । ‘यसो भन्दैमा वयस्क तथा बालबालिकाहरुका लागि मनोरञ्जन प्रदान नगर्ने भने होइन’ उनले बताइन् ।

उनले चलचित्र सपरिवार हेर्न मिल्ने बताउँछिन् । ‘चलचित्रको नामले युवा केन्द्रित गर्छ, तर चलचित्र सपरिवारले हेर्न मिल्ने प्रकृतिकै छ, चलचित्रमा युवाहरूको कथा भएकाले टिजएज नाम राखिएको हो’, नायिका खड्काले भनिन् । उनले ‘ग्ल्यामर सिन’ केही भए पनि समाजलाई पच्नेसम्म भएको बताइन् । नायिका खड्काले चलचित्रमा नयाँ अनुहार भएकाले चलचित्र कस्तो होला भन्ने दर्शकका लागि पुरानो बन्न नयाँ नै भएर आउनुपर्ने तर्क दिन्छिन् । उनी नयाँ कलाकार भए पनि पुरानोभन्दा कम नभएको बताउँछिन् ।

‘पुराना कलाकारको चलचित्र हेर्नुपर्छ भन्ने दर्शकका लागि मेरो अनुरोध, नयाँ कलाकारबाटै पुरानो हुने हो, त्यसैले चलचित्र हेरेरमात्र प्रतिक्रिया दिनुहोला’, उनले भनिन् । उनले योभन्दा अघि ‘मंगोलियन हार्ट’ नामक चलचित्रमा काम गरिसकेकी छन् । ‘टिनएज’ मा नायिका प्रतिक्षा खड्का, नायक चलचित्रमा नवनायक नरेशवीर सिंहको मुख्य भूमिका छ । यस्तै एञ्जिला खड्की, सरोज साह, कृण सिवाकोटी, अजय खड्का, राज उप्रेती, रेशम फिरिरलगायतको अभिनय छ । चलचित्र दिनेश पाख्रिनले निर्देशन गरेका हुन् ।