टि-२० को दोस्रो खेलमा आज नेपाल र युएई भिड्दै

title
शुक्रबार, माघ १८, २०७५

काठमाडाैं । नेपाल र युएईबीचको दोस्रो टि -२० खेल शुक्रबार हुँदैछ। पहिलो टि -२० मा २१ रनले हारेको नेपाल दोस्रो खेलमा जित निकाल्दै सिरिज जोगाउन चाहन्छ। एक दिवसीय खेलमा सिरिज जितेको नेपालले पहिलो टि-२० मा भने युएईसँग स्तब्ध भएको थियो। युएईको दुबई मैदानमा हुने खेल दिउँसो पौने ३ बजे सुरु हुनेछ।

तीन म्याचको सिरिजमा युएई १-० ले अघि रहेको छ। शुक्रबारको खेलमा जित निकाले नेपालले सिरिजमा १-१ को बराबरी गर्नेछ। बिहीबारको खेलमा हार बेहोरेको कारण शुक्रबार भने टिममा केही परिवर्तन हुने संकेत देखिएको छ। युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टिममा पारस खड्काको कप्तानीमा १६ सदस्यीय खेलाडी रहेका छन्।

उक्त प्रतियोगिताका सहभागी खेलाडीमा कप्तान पारस खड्कासँगै उपकप्तान ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, प्रदीप ऐरी, सोमपाल कामी र विनोद भण्डारी छन्।

त्यस्तै, भीम सार्की, अविनाश बोहरा, पवन सर्राफ र सन्दीप जोराले सिनियर राष्ट्रिय टोलीमा पहिलो पटक स्थान बनाएका छन्। उक्त प्रतियोगिताका लागि नेपाली टोलीका नियमित सदस्य शरद भेषवाकर अस्वस्थ भएका कारण छनोट प्रतियेगितमा सहभागी हुन पाएनन्। वैकल्पिकतर्फ ललितसिंह भण्डारी, विक्रम सोब र सुशन भारी छन्।