टुँडिखेलमा फुलपातीको हर्षबढाई

title
मङ्लबार, अशोज ३०, २०७५

काठमाडौं । बडादशैंको सातौ दिन मंगलबार नेपाली सेनाले काठमाण्डौको टुँडिखेलमा फुलपातीको हर्षबढाई गरेको छ । हनुमानढोका दरबारस्थित दशै घरमा फूलपाती भित्राएपछि अपरान्ह सेनाले सैनिक मञ्च टुँडिखेलमा हर्ष बढाई समारोह गरेको हो ।

समारोहमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो भने ‘बडा दशैं २०७५’ को अबसरमा नेपाली सेनाले राईफलबाट छिटो लहरे बढाइँ, बेग्ला बेग्लै पाटामा एकठ्ठा बढाइँ र सबै पाटाले एकठ्ठा बढाइँ गरेको थियो ।

त्यसैगरी, सोही अवसरमा बढाइँ कवाज टोलीले नेपाली सेनाकोे चिन्ह षट्कोण तथा राष्ट्रिय झण्डाको आकृति प्रदर्शन गरी लहरे र एकठ्ठा बढाइँ गर्नुको साथै विभिन्न तोपबाट समेत लहरे तथा एकठ्ठा बढाइँ गरेको थियो ।

त्यस्तै प्रधानसेनापति पूर्णचन्द्र थापाले फष्ट रेन्जर बटालियन र महाबल गणलाई निशान तथा केवलजंग गुल्मलाई प्रधानसेनापति व्यानर प्रदान गर्नुभएको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन,प्रधानमन्त्री केपी शर्मा ओली , प्रधानन्यायाधीस ओमप्रकाश मिश्र , सभामुख कृष्ण वहादुर महरा लगाएतको उपस्थिति थियो ।

त्यसैगरी समारोहमा संबैधानिक निकायका प्रमुख, उच्चपदस्थ सरकारी अधिकारी, नेपालका लागि विभिन्न देशका राजदुत लगायतको उपस्थिति थियो । नेपाली सेनाले प्रत्येक बर्ष फुलपातीका दिन फुलपाती भित्राएको अवसरमा हर्षबढाई समारोह गर्ने गर्दछ ।