ट्रम्पको नयाँ नीतिले रोक्ला अमेरिकाले खुलाउने डिभी भिसा ?

title
शुक्रबार, जेष्ठ ३, २०७६

हिमाल कोईराला । हरेक वर्ष हजारौंको सङ्ख्यामा नेपालीहरु अमेरिका जाने प्रक्रिया डाइभर्सिटी भिसा अर्थात् डीभी चिट्ठा कार्यक्रम अब बन्द हुने देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ल्याएको नयाँ आप्रवासन नीति अनुसार अब डीभी कार्यक्रम बन्द गरिनेछ भने ग्रिनकार्ड दिन पनि कडाई गरिनेछ । सन् १९९१ मा ल्याइएको डीभी चिट्ठा कार्यक्रम अनुसार अमेरिकी समाजलाई अझ विविध बनाउन पछिल्ला ५ वर्षमा ५० हजार भन्दा कम आप्रवासी पठाउने मुलुकका नागरिकलाई अमेरिका ल्याउने गरिएको थियो ।

यसअनुसार हरेक वर्ष विभिन्न मुलुकबाट १ लाख आवेदकलाई दामाशाहीबाट छानेर ५० हजारलाई ग्रीनकार्ड दिइने गरिएको थियो । यो कार्यक्रमबाट तेश्रो विश्वका मुलुकबाट मानिसहरु अमेरिका पुग्ने भएकाले यस्ता आप्रवासीले अमेरिकी अर्थतन्त्र र अमेरिकी समाजलाई उल्लेखनीय योगदान पु¥याउन नसक्ने भन्दै राष्ट्रपति ट्रम्पले यो कार्यक्रमको आलोचना गर्दै आएका थिए । ट्रम्पले ल्याएको नयाँ आप्रवासन नीतिबाट भने यो वर्ष डीभी परिसकेका मानिस भने अमेरिका जान पाउने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यस्तै, अमेरिकी राष्ट्रपतिको यो नीतिअनुसार यसअघि केहि सहज रहेको ग्रिनकार्ड लिने प्रक्रिया पनि जटिल बन्ने देखिएको छ । ग्रिनकार्डका लागि परीक्षा लिनेलगायतका केही कडा प्रावधान राखिएको छ । यसअघि हरेक वर्ष ११ लाख भन्दा धेरै मानिसलाई अमेरिकाले ग्रिनकार्ड बाँड्दै आएको थियो । त्यसमा दुई तिहाई भन्दा धेरै ग्रिनकार्ड अमेरिकामा परिवार रहेकाहरुलाई पारिवारिक सम्बन्धका आधारमा वितरण गरिन्थ्यो । ट्रम्पको नयाँ नीति अनुसार अब ग्रिनकार्ड लिन राम्रो सीप चाहिने, अंग्रेजी राम्ररी बोल्नसक्ने र दूरदृष्टि भएको युवा चाहिनेछ । ट्रम्पले अमेरिकी आप्रवासनलाई अझ व्यवस्थित बनाउन दक्षताका आधारमा आप्रवासी भित्र्याउनुपर्ने बताउँदै आएका थिए ।

सोही अनुसार उनलले ग्रिनकार्डको ५७ प्रतिशत हिस्सा सीप र भिजन भएका युवालाई समेट्ने छन् । ट्रम्पका यि योजनालाई सकारात्मक लिएपनि नीतिमा समावेश अन्य विषयलाई लिएर डेमोक्र्याटिक पार्टीका अधिकंश तथा केही रिपब्लिकन नेताहरुले आलोचना गरेको अमेरिकन सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी कंग्रेसको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा बहुमत रहेकाहरुले ट्रम्पको पछिल्लो आप्रवासन नीति पारित हुनेमा आशंका रहेको छ ।