ट्रम्प र उनबीच हनोइमा भएको वार्ता सहमति बिना टुङ्गियो

title
बिहिबार, फाल्गुन १६, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनामको हनोइमा भएको वार्ता सहमति बिना टुंगिएको छ ।

किम र ट्रम्पको वार्ताबाट कुनै साझा समझदारी नबनेको ह्वाइट हाउसले जनाएको हो । यस पटक कुनै सहमति नबनेपनि हनोई बैठकमा दुवै पक्षबीच सिर्जनात्मक छलफल भएको ह्वाइट हाउसका प्रेस सेक्रेटरी सराह सेन्डरले विज्ञप्ति मार्फत भनेकी छन् । दुवै नेताबीचको छलफलमा आणविक निशस्त्रीकरण र आर्थिक एजेन्डामा छलफल भएको बताइएको छ । तर, छलफल कुनै निष्कर्षमा पुग्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अमेरिकाले उत्तर कोरियाको आणविक कार्यक्रम स्थगन गराउन प्रयास गर्दै आएको छ । तर, उत्तर कोरिया भने अमेरिका र अन्य राष्ट्रबाट सुरक्षा खतरा रहेसम्म आफ्नो आणविक कार्यक्रम जारी राख्ने मनस्थितिमा रहेको छ ।