डाक्टर केसीको माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने सभापति देउवाको भनाई

title
आइतवार, साउन ६, २०७५

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीको माग जायज भएको उल्लेख गर्दै माग पूरा गराउन कांग्रेस एकताबद्ध हुनुपर्ने बताउनुभएको छ ।

३६ औं वीपी स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको सभालाई सम्बोधन गर्दै सभापति देउवाले केसीको माग पूरा नभएसम्म कांग्रेसले आन्दोलन जारी राख्ने र यही नै वीपीप्रतिको सम्मान हुने बताउनुभयो । वीपीले भन्नुभएको कम्युनिस्ट कहिल्यै प्रजातन्त्रवादी नहुने र कम्युनिस्टसँग कहिल्यै मिल्नु हुदैन भन्ने बिचार सत्य सावित भएको उहाँको भनाई छ ।

आफ्नो सरकारको पालामा कम्युनिष्टहरुलाई नै राखेर माथेमा आयोगले ल्याएको कुरा सबैसँग सहमति गरेर ल्याएको चिकित्सा शिक्षा अध्यादेश उल्ट्याउन खोजेको भन्दै देउवाले आपत्ति समेत जनाउनुभयो ।

सरकारले विश्वमै नभएको नियम ल्याएर तथाकथित निषेधित क्षेत्र घोषणा गरेको उल्लेख गर्दै देउवाले सरकार तानाशाही शासन व्यवस्था ल्याउन लागिपरेको आरोप लगाउनुभयो ।