
चितवनमा डेङ्गी सङ्क्रमणबाट थप एक जनाको ज्यान गएको छ । ज्यान जानेमा भरतपुर महानगरपालिका–२० चनौलीका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा ज्यान गएको हो ।
ज्वरो आएर उपचारका लागि गएको शुक्रवार अस्पताल भर्ना भएका उनको आज ज्यान गएको भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा. कल्याण सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार बिरामीमा कडा खालको डेङ्गी देखिएको थियो ।
यसअघि शनिवार चितवन मेडिकल कलेजमा भरतपुर–२ का ६३ वर्षीय वृद्धको डेङ्गी सङ्क्रमणका कारण ज्यान गएको थियो । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । सङ्क्रमितमध्ये पाँच सय ८० जना चितवनका र अन्य जिल्लाबाहिरका रहेका छन् ।