ड्रग्सको नयाँ तथ्य: भारतीय तस्करको पैसा नेपाली उत्पादन १२३५ विगाहको गाँजा र २८५ विगाहको अफिम नष्ट

title
आइतवार, जेष्ठ १२, २०७६

गजेन्द्र बस्नेत

काठमाडौं । बैशाख २६ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ रोपनीमा फैलिएको गाँजा खेती प्रहरीले नष्ट गर्‍यो। त्यस्तै बैशाख २० गतेएता मात्र जिल्ला प्रहरी कार्यालय बाजुराले जिल्लाका विभिन्न स्थान गरी २७ रोपनी भन्दा बढी जग्गामा गरिएको गाँजा खेती नष्ट गरेको छ।

बैशाख २८ गते, रुकुम जिल्लाको भुमे गाउँपालीकामा पनि प्रहरीले दुई रोपनी जग्गामा लगाइएको गाँजा खेती नष्ट गर्‍यो। बैशाख महिनामा प्रहरीले रुकुममा मात्र ६५ रोपनी भन्दा बढी जग्गामा लगाइएको अफिम खेती नष्ट गरेको छ।

यी त पछिल्लो दुई साता यताका घटना मात्र हुन्। प्रहरीले अहिले देशका विभिन्न जिल्लाहरुमा गाँजा र अफिम नष्ट गर्ने  अभियान चलाइरहेकै छ। अरु त अरु संघीय नेपालको राजधानी काठमाडौं उपत्यकामै गाँजाको खेती हुनेगरेको छ।

महानगरीय प्रहरी परिसर लतिलपुरको टोलीले केही समय अघि ललितपुरको बालकुमारी गुजेपोखरीस्थित सयौं रोपनी क्षेत्रफलमा फैलिएको सार्वजानिक जग्गामा हुने गाँजा खेती नष्ट गरेको थियो। राजधानी नजिकै रहेको फर्पिङ आसपासको क्षेत्रमा पनि प्रहरीले बर्षेनी ठूलो परिमाणमा गाँजा नष्ट गर्दै आएको छ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङक अनुसार प्रहरीले पछिल्लो तीन बर्षको अवधिमा मात्र एकहजार दुईसय ३५ विगाहा जग्गामा लगाएको गाँजा नष्ट गरेको छ भने दुईसय ८५ विघा जग्गामा खेती गरेको अफिम नष्ट गरेको छ।

नेपालका आधा भन्दा बढी जिल्लामा लागुऔषधको खेती

लागूऔषध विश्लेषक कृष्णप्रसाद त्रिपाठीका अनुसार, अहिले नेपालका आधाभन्दा बढी जिल्लाहरुमा लागुऔषधको खेती हुँदै आएको छ। त्रिपाठी भन्छन्, ‘पहिले पहिले नेपालका ७/८ वटा जिल्लामा मात्र व्यवसायिक रुपमा गाँजा र अफिम उत्पादन हुने गरेको थियो। त्यसमध्ये तराइका केही जिल्लाका साथ मकवानपुर र धादिङ पर्थे।

तर, अहिले रुकुम, रोल्पा, बाजुरा, भोजपुर, खोटाङ, रामेछाप, लगायत पहाडी जिल्लामा ब्यवसायिक रुपमा गाँजाको खेती हुनेगरेको छ।

यसबाहेका तराईका सिरहा, सप्तरी, महोत्तरी, धनुषा लगायतका जिल्लामा अफिम खेती हुने गर्छ। विश्लेषक त्रिपाठी भन्छन्, ‘अहिले नेपालका आधाभन्दा बढी जिल्लामा प्रत्यक्ष या अप्रत्यक्ष रुपमा लागुऔषधको खेती हुन्छ । प्रहरीका अनुसार पनि अहिले नेपालको अधिकांश जिल्लामा गाँजा तथा अफिम उत्पादन हुन्छ।

भारतीय तस्करको पैसा, नेपाली कृषकको खेती

पूर्वडिआइजी हेमन्त मल्लका अनुसार, नेपालमा अबैध रुपमा उत्पादन हुने गाँजा भन्दा पनि अझ बढी अफिममा फाइदा हुन्छ। त्यसैले कृषकहरुले लुकिछिपी रुपमा अफिमको खेती गर्ने गरेका छन्।

अनुसन्धान अनुसार, सिमित पैसा पाउने लोभमा नेपाली कृषकहरुले गाँजा तथा अफिमको खेती गरिरहेका छन्। अनि उनीहरुलाई गाँजा तथा अफिम खेती गर्न तस्करहरुले उक्साउने गरेका छन्। नेपाली कृषकहरुलाई भारतीय तस्करहरु आएर गाँजा र अफिम खेती गर्नका लागि बिउ, मल देखि अग्रिम पैसासम्म दिने गर्छन्।

अहिले जस्तै गाँजा र अफिम उत्पादन हुँदै जाने हो भने नेपाल पनि अफगानिस्तान झैं लागुऔषध उत्पादनको केन्द्र बन्ने विश्लेषकहरुको ठहर छ। हुन त नेपालमा विश्वका अन्य मुलुकमा जस्तो पूर्णनाफामुखी र संगठनात्मक रूपमा लागुऔषध वितरण गर्ने सञ्जाल देखिएको छैन तर, थुप्रै युवा प्रभावित भैरहेको अवस्थामा यसको कारोबार भने दिन प्रतिदिन बढीरहेको छ ।