ढाकाको व्यापार बढ्यो

title
बिहिबार, कार्तिक २२, २०७५

पाँचथर । तिहारमा दाजु भाईले आफ्ना दिदी बहिनिलाई उपहारस्वरुप घरेलु उत्पादन ढाकाका सामाग्री दिने प्रचलन बढेपछि पाचंथरमा ढाकाको ब्यापार बढेको छ ।

दिदि वहिनीलाई दाजु भाइले तिहारमा ढाकाको चोलो तथा सारी दिने चलन लोकप्रिय बनेजस्तै दाजु भाइलाई पनि ढाकाको टोपी पहिर्याइ दिने चलन छ । पांचथरका स्थानीय बजारमा तिहारका बेला ढाकाका कपडाको व्यापार निकै बढेको छ ।

भाइटीकाका दिन दिदी भाइले ढाकाबाट बुनेका कपडा आपसमा उपहार दिने परम्परासंगै ढाका लोकप्रिय बनेको हो । व्यापार बढेसँगै ढाका उद्योगीलाई बजारको माग धान्न भ्याइ–नभ्याई भएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिका अनुसार पांचथरमा सञ्चालीत् ४५ वटा भन्दा बढी ढाका उद्योगमा सयौंंले रोजगारी पाएका छन् । बजारमा व्यापारीलाई पनि भ्याई नभ्याई छ ।

तिहारमा बिशेषगरि ढाका बाट बनेका टोपी, मफलर, टाइ, सर्ट र पर्ससंगै सारी, कुर्ता, सलवार र चोलोको माग बढी हुन्छ । व्यापारीका अनुसार ढाकाटोपी र ढाकाका चोलो र सारीको कारोबार अन्य समयको तुलनामा तिहारमा बढी हुन्छ ।

स्थानीय बजारका अतिरिक्त जिल्ला बाहिर समेत तिहारको समयमा ढाकाको उत्पादनको अत्याधीक माग हुने बिक्रेताहरु बताउँछन । मौलिक पोशाकका रुपमा लिईने ढाकाको उत्पादनमा घरेलु उद्योगले सकृयता देखाएसंगै यसको बजार समेत बढेको छ ।

सानो लगानीमा सजिलै उत्पादन तथा बजारीकरण गर्न सक्ने भएपछि उत्पादन तर्फको आकर्षण बढेको हो । व्यवसायीहरुका अनुसार केहिबर्ष यता, यूवा पुस्तामा समेत ढाकाको टोपीको मोह बढ्दै गएको छ ।

त्यसमा पनि भाइटीकाका दिन दिदी बहिनीले दाजुभाइलाई सप्तरंगी टीका, मखमली फूलको माला र ढाकाटोपी लगाइदिने चलन छ । त्यस्तै दाजुभाइले पनि दिदी बहिनीलाई पछ्यौरा, सल, व्याग जस्ता सामान उपहार दिने गरेका छन् ।

जसका लागि पाँचथरमा ढाकाका कालिगढलाई तिहारकै सरसमान निर्माण गर्न भ्याई–नभ्याई भएको हो । उद्योगी तथा व्यापारिको अनुभवमा दसैं, तिहार ढाकाका सामान बिक्ने मुख्य सिजन हो र ९० प्रतिशत ढाकाको व्यापार यही बेला हुने गरेको छ ।