तत्काल भाडा वृद्धि गर्न ट्याक्सी व्यवसायीहरुको सरकारसँग माग

title
मङ्लबार, चैत्र २६, २०७५

काठमाडौं । ट्याक्सी व्यवसायीहरुले तत्काल टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरेका छन । उपत्यका टयाक्सी व्यवसायी तथा चालक सेवा समाजले तत्काल टयाक्सी भाडा वृद्धि गर्न माग गर्दै यातायात व्यवस्था विभागका महानिर्देशक कुमार दाहाललाई आज ज्ञापन पत्र बुझाएका हुन । मिनभवन स्थित विभागको कार्यालयमा बुझाइएको ज्ञापन पत्रमा बजार भाउको मूल्यांकन गरेर टयाक्सी भाडा वृद्धि गर्न सरकारसँग माग गरिएको छ । यता, विभागका महानिर्देशक दाहालले भने एक हप्ता भित्र टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

उहाँले टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफूले प्राविधिक समिति नै गठन गर्ने पनि बताउनु भयो । सरोकारवाला निकायसँग छलफल गरेर टयाक्सी व्यवसायीहरुको माग सम्बोधन गर्न आफू लागि पर्ने महानिर्देशक दाहालको भनाई छ । टयाक्सी व्यवसायीहरुले बजारमा सबै बस्तुको मूल्य बढदा पनि टयाक्सीको भाडादर वृद्धि नहुँदा आफूहरु मारमा परेको गुनासो गर्दै आएका छन । उनीहरुले टयाक्सी पार्किङको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन ।