तरकारी बजारमा सरकारी टोलीको छापा, अवरोध गर्ने एक व्यापारी पक्राउ

title
सोमवार, भदौ ११, २०७५

काठमाडौं । बल्खुस्थित तरकारी बजारमा छापा मार्न गएको सरकारी टोलीविरुद्ध विरोधमा उत्रिएका एक व्यापारी पक्राउ परेका छन्।

उद्योग वाणिज्य तथा आपूर्ति विभागका निरीक्षक अधिकृत दीपक पोखरेलको नेतृत्वमा सरकारी टोली सोमबार बिहानै तरकारी बजार पुगेको थियो। अनुगमनमा व्यापारीहरुले अवरोध गरेपछि व्यापारी रवि शाह पक्राउ परेका हुन्।

अनुगमनका क्रममा दुई वटा गाडीमा किसानबाट खरिद गरिएका तरकारीको बिलबिजक नपाइएको पोखरेलले बताए। बल्खु तरकारी बजारका अध्यक्षसहित सञ्चालक समितिसँग कारोबारको विवरण वाणिज्य तथा आपूर्ति विभागमा पेस गर्न पनि टोलीले निर्देशन दिएको छ।

यसअघि पनि विभागको टोलीले कालिमाटीस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको थियो। अनुगमनमा बाधा पुर्‍याउने नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका महासचिव पक्राउ परेपछि गत मंगलबार उनीहरुले कारोबार ठप्प पारेका थिए।