तीजका गीतमा व्यस्त बन्दै कलाकार

title
शुक्रबार, साउन ४, २०७५

काठमाडौं । नेपाली महिलाहरुको महान चाड हरितालिका तीज आउँन केही समय बाँकी छ । तीजको मिति नजिकिँदै जाँदा कलाकारहरु तीजका गीतमा व्यस्त बनेका छन् । विभिन्न पार्क तथा सुटिङस्थलमा कलाकारहरु भरिभराउ हुन्छन् । उनीहरुलाई बिहानैदेखि बेलुकासम्म भ्याइ नभ्याइको अवस्था छ ।

त्यसो त कलाकार भएपछि कलाकारितामा अब्बलता प्रदर्शन गर्नुपर्छ नै । कुशल कलाकारको कर्म भनेकै कलाकारिता हो । दर्शकको चाहना पूरा गर्नु कलाकारको लागि महत्वपूर्ण पक्ष हो । यदी आफ्नो कला विकेन भने कलाकारितकाबाट छिट्टै हात धुनुपर्ने अवस्था आउँछ । पछिल्लो समय नेपाली चलचित्रमा व्यस्त बनेका धेरै कलाकार तीजका गीतमा व्यस्त छन् । यो कलाकारका लागि राम्रै पक्ष भए पनि दर्शकका लागि गुनासो गर्ने ठाउँ प्रशस्तै पाइन्छ । एउटा स्थान बनाइसकेको कलाकार तीजका गीतमा अभिनय गर्न थालेपछि उनको हातमा फिल्म नभएको प्रष्ट बुझिन्छ । यही विषय नै दर्शकको कुरा काट्ने महत्वपूर्ण माध्यम पनि बनेको छ ।

तर, केही यस्ता कलाकार पनि छन् । उनीहरुको हातमा न फिल्म छ न त गीतहरुमा अभिनयका लागि अफर नै आउँछ । वर्षभरिमा एक दुई वटा चलचित्रमा अभिनय गरेर पनि उनीहरुलाई पुगेकै छ । त्यस्तै अर्को लगातार चलचित्रमा देखिए पनि चलचित्रले दर्शकको साथ नपाएको देख्दा उनीहरुको निरन्तरतालाई कुन अर्थमा मापन गर्ने । यस्ता विविध पक्ष भए पनि कलाकारका लागि कलाकारिता नै उपयुक्त हो । काम सानो–ठूलो सोच्नुभन्दा पनि अभिनयमा अब्बलता र निखारता ल्याउनु कलाकारका लागि पहिलो प्राथमिकता पनि हो ।

नायिका नीता ढुंगाना अभिनित सिनेमाले बक्स अफिसमा खासै कमाल गर्न नसकिरहेको अवस्थामा उनी आँफै निमार्ता बन्न खोज्नुले धेरैले उनको सेफल्याण्डिङ भनेर बुझेका थिए । यद्यपि उनले बनाउने सिनेमाको काम कहिले बाट सुरु हुने हो त्यसको अत्तोपत्तो छैन । प्रायः फुर्सदिलो बनेकी नीता यति बेला आफ्नो व्यस्तता बढाउन म्युजिक भिडियोहरुमा देखिन थालेकी छन् ।

गायिका मन्जु पौडेल र सन्तु थापाको स्वरमा रहेको गीत ‘छम्म छम्म’ बोलको तीज गीतमा उनको अभिनय रहेको छ । सञ्चारकर्मी दीपेन्द्र घिमिरेसँग छमछमी नाँचेकी नीता ढुङ्गाना र दीपेन्द्रको जोडी जमेको देखिन्छ । हालै सार्वजनिक भएको गीतमा शिव हमालको शब्द तथा पवित्रा सर्तुङ्गे मगरको संगीत, आशिष अविरलको एरेन्ज रहेको छ । तीजमा ब्रत बसेकी श्रीमती तब खुशी हुन्छे जब उसको पति उसँगै नाच्न आउँछ । गीतको यही भावलाई भिडियोमा उतारिएको छ । निता ढुंगाना र दिपेन्द्र घिमिरेको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।