तीज गीतः संस्कृतिका नाममा बढ्दो विकृति

title
आइतवार, साउन १३, २०७५

काठमाडौं । नेपाली महिलाहरुको महत्वपूर्ण पर्व हो हरितालिका तीज । कतिपय महिलाहरु माइती जानका लागि तीज कुरेरै बसेका हुन्छन् । आफ्ने घर परिवारमा भोगेका दुःख कष्ट, पीर व्यथा माइतीमा गएर पोख्ने, रमाइलो गर्ने, दुई–चार दिन भए पनि सुखसँग रमाउने पर्वका रुपमा समेत तीजलाई महिलाले लिने गर्दछन् ।

तर, अहिले अवस्था त्यस्तो छैन । प्रविधिले फड्को मारेको अवस्थामा देश–विदेश, गाउँ–शहरमा एकैक्षणमा सुख, दुःख साट्न पाइन्छ । पीर वेदना पोख्न पाइन्छ । यसलाई सकारात्मक पक्ष मानिए पनि अहिले तीजको मर्म विर्सन भने थालिएको छ ।
महिलाहरुले मीठो मसिनो खाने, दिल खोलेर गाउने र उन्मुक्त नाच्ने सप्तरंगी पर्वका रुपमा तीजको मौलिक परम्परा रहेपनि अहिले विकृति बढ्दो छ ।

तीजलाई लक्षित गरी सार्वजनिक भएका गीतले समाजलाई नै विकृतितर्फ धकेल्ने गरेको पाइन्छ । तीज गीतको मौलिक भाका छ, मर्म छ । कुनै पनि गीत र भाकाले निश्चित परिस्थिति, परिवेश, कालखण्ड, भूगोल आदिको प्रतिनिधित्व गर्छ । तीज गीतको पनि यस्तै मौलिक विशेषता छ । यसको गाउने समयसीमा पनि छ । नाग पञ्चमीदेखि पञ्चमीसम्म तीज गीत गाउने प्रचलन छ । खासगरी महिलामाथि हुने उत्पीडन, ज्यादतीलाई गीतमा समेटिन्छ । महिलाहरुले वर्षभर भोगेका दुःख, पीडा, व्यथा, अपहेलना, अप्ठ्यारालाई गीतको माध्यामबाट उजागर गर्ने मेसोका रुपमा समेत लिइन्छ ।

तर, अहिले बजारमा आएका अनेकथरी गीतले तीजको मूल मर्म विर्सेका छन् । हाउडे तथा उच्छृंखल गीतका भिडियोले युट्युव ‘राताम्य’ बनेको छ । केही सातायता दर्जनौँ यस्ता गीत युट्युवमा सार्वजनिक भएका छन् । जसमा संस्कृतिभन्दा बढी विकृति देखिन्छ । यी गीतको भाकामा तीजको कुनै छनकै देखिदैन ।

रातो सारी लगाउँदैमा तीज भन्न मिल्दैन । तीजको मूल मर्म र संस्कृति समेटिनुपर्छ । गीतका शब्दमा उत्तेजक र द्विअर्थी शब्द थोपरिएको हुन्छन् । घरपरिवारका साथ बसेर गीत हेर्ने पनि अपाच्य हुने गीतले तीजको मर्मलाई विकृतितर्फ धकेलेको पाइन्छ । केही अपवाद गीत बाहेक अधिकांश गीतमा तीजको मर्म समेटेको पाइदैन ।

पछिल्लो समय सार्वजनिक भएका अधिकांश तीजका गीतहरुलाई बुझ्ने हो भने तीज महिलाहरुको पर्वमा सिमित नभएर तीज भनेकै ‘गायक बन्ने’ पर्व जस्तो भएको छ । जसले पनि गाएका छन्, जस्तो गीत पनि बजारमा ल्याएका छन् । न ताल न शुरुमा उफ्रेको–नाचेको देख्दा तीजको महिमा नितान्त फरक बन्दै गएको आभाष हुन्छ ।

त्यसो त तीजको कसैलाई मालामाल पनि बनाएको छ । तीजको चटारोले गायक पशुपति शर्मा, ज्योति मगरदेखि शंकर विसीसम्मलाई छोपेको छ । पशुपति शर्माहरु गीत गाउनमा भ्याइ नभ्याइ हुन्छन् । ज्योति मगरहरुलाई अभिनय गर्नमा भ्याइ–नभ्याई बनाउँछ । शंकर विसीहरु निर्देशन गर्न र नाच्न व्यस्त बन्छन् । बचेका र चलेका केही देश–विदेशको प्रस्तुतीबाट पैसा कुम्ल्याउँछन् । यता, हास्य कलाकारहरु पनि फूर्सदिला बन्न पाउँदैनन् । उनीहरुका निम्ति तीज फलिफप सावित हुन्छ ।