तेक्वान्दोपछि कराते र बक्सिङ पनि गुम्यो नेपालको पदक आशा

title
मङ्लबार, भदौ १२, २०७५

काठमाडौं । इन्डोनेसियामा जारी एसियन गेम्स (एसियाड)को १८ औं संस्करणमा नेपालको प्रदर्शन निकै फितलो देखिएको छ । जारी खेलमा नेपालको सहभागिता कीर्तिमानीमा सुधार बाहेकको अझै उपलब्धि हात पर्न सकेको छैन । नेपाली खेलाडीहरुले आफ्नो कीर्तिमानी तोडे पनि नेपालका लागि उपाधि दिलाउन भने सकेका छैनन् । पदकको आशा राखेका खेलको समाप्तिसँगै नेपालको पदक जित्ने सम्भावना भने दिनप्रतिदिन झिनो बन्दै गएको छ ।

विगतलाई हेर्ने हो भने नेपालले मात्र तीन खेल तेक्वान्दो, बक्सिङ र करातेमा पदक जितेको छ । तर, जारी खेलमा भने यि तीनै चुनौतीमा नेपाल पदकविहीन बनेसँगै नेपालको पदक जित्ने आशा निराशामा परिणत भएको छ । तेक्वान्दोको चुनौती गत भदौ ७ गते सकिएको हो भने कराँते र बक्सिङ दुवै सोमबार पदकविहीन बने ।

विगतका एसियाली खेलकुदमा नेपालले तेक्वान्दोबाट १ रजत र १३ कांस्य, बक्सिङबाट ६ कांस्य र करातेबाट ३ कांस्य जितेको थियो । नेपालले एसियाडमा सहभागिता जनाएको २९ खेल मध्ये अन्तिममा समावेश भएको स्क्वासको पुरुष टिम इभेन्टमा पनि नेपाल पराजित भएको छ ।

पछिल्लो प्रतिस्पर्धामा चीनले शीर्ष स्थान कायमै राखेको छ भने जापानले उसलाई पछ्याइरहेको छ । एसियाडमा सहभागी ४५ मुलुकमध्ये ३६ मुलकले पदक तालिकामा आफ्नो नाम तर्दा गराउन सफल भएका छन् भने अझै ९ मुलुकको पदकको प्रतिक्षामा छन् । ४० खेलका ४ सय २० स्पर्धा मध्ये केही खेलको टुंगो लागिसकेको छ भने केही स्पर्धामा खेलाडीले पदक चुम्ने क्रम जारी छ । पछिल्लो पदक तालिकामा चीन अग्रस्थानमा छ ।

उसले ८६ स्वर्ण, ६२ रजत र ४३ कास्यसहित १९१ पदक जित्न सफल भएको छ । चीनलाई पछ्याइरहेको जापानले ४३ स्वर्ण, ३६ रजत र ५७ कास्यसहित १३६ पदक जित्न सफल भएको छ । त्यसैगरी त्यस्रो स्थानमा रहेको दक्षिण कोरियाले २८ स्वर्ण, ३६ रजत र ४२ कास्यसहित १०६ पदक जितेको छ । आयोजक इन्डोनेसिया भने सोमबार भएको खेलमा जित हात पार्दै चौथो स्थानमा उक्लिएको छ । उसले २२ स्वर्ण, १५ रजत र २७ कास्य गरी ६४ पदक जितेको छ ।

पाँचौ स्थानमा झरेका इरानले १७ स्वर्ण, १५ रजत र १५ कास्य गरी कूल ४७ पदक जितेको छ । दसौं दिनसम्म आइपुग्दा ३६ मुलुकले पदक तालिकामा नाम लेखाउन सफल भएका छन् । नेपालको छिमेकी मुलुक चीन प्रतियोगिताको शीर्ष स्थानमा रहँदा अर्को छिमेकी मुलुक भारत भने नवौं स्थानमा रहेको छ । उसले ८ स्वर्ण, १३ रजत र २० कास्य गरी ४१ पदक जित्न सफल भएको छ ।