तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग सुरु, विराटनगर वारिवर्सको विजयी सुरुवात

title
शनिबार, मंसिर २२, २०७५

साविकको विजेता विराटनगर वारिवर्सले तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग
(ईपीएल) टी–ट्वान्टी क्रिकेटमा विजयी सुरुवात गरेको छ ।

आज सम्पन्न उद्घाटन खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगरले ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले हराएर विजयी सुरुवात गरेको हो । किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य विराटनगरले ७ विकेट गुमाएर पुरा गर्यो । विराटनगरका लागि करण केसीले उत्कृष्ट ब्याटिङ गरे ।

यस्तै आसिफ शेखले १९, अनिल कुमार साहले ११ रन जोडे । कप्तान पारस ८ रनमा आउट भए । ललितपुरका गौरव तामोरले ३ तथा सन्दीप लामिछानेले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले पुरै २० ओभरमा ९ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो ।

ललितपुरका लागि कप्तान ज्ञानेन्द्र मल्लले ४९ रन जोडे । यस्तै सन्नी पटेलले २० तथा पवन शार्रफले १४ रन बनाए । विराटनगरका करण केसी र रोएलोफ भान डेर मेर्वीले समान २–२ विकेट लिए । लिग अन्तर्गत भोली पहिलो खेलमा ललितपुर र चितवन टाइगर्स तथा दोस्रो खेलमा भैरहवा ग्लाडीयटर्स र पोखरा राइनोजले खेल्नेछ ।