त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज अाजबाट, लर्डस् मैदानमा फेरि उत्रिंदै नेपाली टोली

title
आइतवार, साउन १३, २०७५

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइतबार क्रिकेटको होम मानिने इंग्ल्याण्डको लर्डस क्रिकेट मैदानमा मेरिलेबोन क्रिकेट क्लव एमसीसी र नेदरल्याण्ड्सको राष्ट्रिय टोलीबीच त्रिकोणात्मक टी–२० क्रिकेट सिरिज खेल्दैछ ।

मैत्रीपूर्ण टी–२० सिरिजका लागि नेपाली टोली इंग्ल्याण्ड पुगेको हो । नेपालले नेपाली समयअनुसार आइतबार साँझ सवा ६ बजे एमसीसीसँग खेल्नेछ भने साढे १० बले नेदरल्याण्ड्ससँग खेल्दैछ । त्यसअघि दिउँसो ३ बजे नेदरल्याण्ड्स र एमसीसीबीचको खेल हुनेछ । एमसीसीको कप्तानी श्रीलंकाली महान क्रिकेटर माहेला जयबर्दनेले गर्नेछन् ।

मैत्रीपूर्ण भए पनि नेपाल र नेदरल्याण्ड्सबीचको खेललाई आईसीसीले अन्तर्राष्ट्रिय टी–२० मान्यता दिएको छ । दुवै टी–२० अन्तर्राष्ट्रिय मान्यता पाएका टोलीहरु हुन् । एक साताअघि इंग्ल्याण्ड पुगेको नेपाली क्रिकेट टोलीले त्यहाँको स्थानीय क्लवहरसँग दुई एकदिवसीय र दुई टी–२० अभ्यास खेल खेलेको थियो ।

जसमध्ये तीन खेलमा जित हासिल गरेको नेपाल १ खेलमा पराजय व्यहोरेको थियो । त्रिकोणात्मक सिरिजपछि नेपाली टोली नेदरल्याण्ड्स प्रस्थान गर्नेछ । जहाँ नेपालले नेदरल्याण्ड्ससँग एतिहासिक एकदिवसीय सिरिज खेल्नेछ । एकदिवसण्ीय मान्यता पाएपछि पहिलो पटक नेपालले सिरिज खेल्न लागेको हो । नेपालले आगामी बुधबार र शुक्रबार एकदिसीय खेल खेल्नेछ ।

अभ्यास खेलबाटै शुखद् शुरुवात गरेको नेपाली टोलीले आइतबारको खेलमा पनि सुखद् नतिजा हात पार्ने अपेक्षा लिइएको छ । नेपाली टोलीले आफ्नो खेल हुनुपूर्व लण्डनका विभिन्न स्थानीय क्लबहरुसँग अभ्यास खेल खेलेको थियो । पहिलो अभ्यास खेलमा स्थानीय हैम्पसायर होग्स क्रिकेट क्लबमाथि शानदार जित निकालेको नेपाली टोलीले दोस्रो खेलमा सेन्ट क्रस क्रिकेट क्लबसँग पराजित भएपनि त्यसपछिका दुई खेलमा भने जित हात पारेको हो । अन्तिम तथा चौथो अभ्यास खेलमा पनि नेपालको शानदार प्रदर्शन रह्यो । नेपालले इष्ट लण्डन सार्कस्लाई १ सय ३४ रनले पराजित गरेको थियो ।

यसैबीच, लर्डसमा नेपालको खेल हेर्न अमेरिका र यूरोपका नेपालीको घुइँचो बढ्दै गएको छ । यसले बेलायतमा रहेका नेपाली क्रिकेट खेलाडीमा हौसला थपेको छ । लण्डनको ऐतिहासिक लर्डस् मैदानमा आइतबार हुने त्रिकोणात्मक टी–२० खेल्न नेपाली खेलाडीहरु आतुर छन् । त्यसो त नेपालले लर्डस् भूमिमा दोस्रो पटक खेल्न लागेको हो ।

यसअघि बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापित भएको २ सय वर्ष पूरा भएको अवसरमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग सन् २०१६ को जुलाई १९ तारिखमा पहिलो पटक लर्डसमा खेलेको थियो । ऐतिहासिक मैदान लर्डसमा एशोसियट नेशनले पाएको दुर्लभ अवसरमा राम्रो छाप छाड्ने आफ्नो लक्ष्य पूरा नभएको भन्दै पारसले पछुतो माने पनि नेपालले एसीसीलाई ४१ रनले पराजित गर्दै लर्डसको सम्झनालाई अविष्मरणीय बनायो ।

नेपालले डिभिजन दुईबाट रेलिगेसनमा परेको नेपालले यसै वर्षको फेब्रुअरीमा नामिबियामा भएको डिभिजन दुईको उपविजेता बन्दै मार्चमा जिम्बाबेमा एक दिवसीय छनोटमा स्थान बनाएको हो । २०१९ को विश्वकपमा छनोट हुने दुई टोलीको टुंगो लाग्ने उक्त प्रतियोगितामा सहभागी १० मध्ये वेस्टइन्डिज र अफगानिस्तानले शीर्ष दुईमा रहँदै विश्वकपमा स्थान बनाए भने नेपालले आठौं हुँदै पहिलोपटक एक दिवसीय अन्तर्राष्ट्रियको मान्यता हासिल गरेको हो ।

पहिले भन्दा अहिले नेपाल फरक पहिचानका साथ लर्डसमा उत्रँदैछ । यतिवेला नेपाल एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता टी–२० अन्तर्राष्ट्रिय पनि) प्राप्त देश हो भने लर्डसमा एमसीसीले उसलाई सम्मानका साथ खेल्न बोलाएको हो । एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएकै महिना एमसीसीले नेपाल, एमसीसी र नेदरल्याण्ड्सबीच त्रिकोणात्मक टी–२० श्रृखंला खेलाउने घोषणा गर्दा विज्ञप्तिमा उल्लेख थियो, ‘नेपाल र नेदरल्याण्ड्सले एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको सम्मानमा लर्डसमा यो श्रृखंला आयोजना गर्न लागिएको हो ।’

दुई वर्षअघि लर्डस् मैदानमा खेलेका सागर पुन, विनोद भण्डारी, अनिल मण्डल, राजेश पुलामी मगर, राजु रिजाल र बिक्रम सोवको स्थानमा अहिले नयाँ खेलाडी छन् । उनीहरुको स्थान लिनेमा दीपेन्द्रसिंह ऐरी, ललितसिंह भण्डारी, रोहित पौडेल, ललितनारायण राजवंशी, अनिलकुमार साह र आरिफ सेख छन् । त्यसबाहेक पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कामी, सुवास खकुरेल, करण केसी र सन्दिप लामिछाने भने नेपाली टोलीबाट यसपटक दोस्रो पटक लर्डसमा उत्रदैछन् ।

यता, एमसीसीको टोली पनि विश्वस्तरिय खेलाडीहरुले भरिएको छ । श्रीलंकाका विश्व टान्टी–२० विजेता खेलाडी माहेला जयवद्र्धनेको कप्तानीमा रहने एमसीसीमा इंग्ल्यान्डका पूर्व ब्याट्सम्यानहरू इयान बेल, जोनाथन ट्रोट, विकेटकिपर जेम्स फोस्टर, जिम्बावेका पिटर मुर, स्कटल्यान्डका डिलन बुज, एलास्डाएर इभान्स र मार्क वाट लगायत छन् ।