त्रिशूली थ्री ‘ए’ को विद्युत उत्पादनको परीक्षण सुरु

title
बुधबार, चैत्र २०, २०७५

रामहरि न्यौपाने/नुवाकोट । रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको संरचना निर्माण पूरा भएसगैं विद्युत उत्पादनको परीक्षण थालिएको छ ।

आयोजनाको बाँधस्थल, डिसेन्टर, पानी लैजाने करीब पाँच किलोमिटर लम्बाइको टनेल, जेनेरेटर लगायतका भौतिक तथा विद्युतीय उपकरणहरुको परीक्षण भइरहेको आयोजना पक्षले जनाएको छ । यही चैत १ गते देखि सुरु भएको परीक्षणको क्रममा बाँधस्थल सफल ठहरिएको छ ।

२०७२ बैशाख १२ को विनासकारी भूकम्पबाट सबैभन्दा ठूलो क्षति पुगेर पुनः मर्मत गरिएकाले चुनौती मानिएको बाँधस्थलको परीक्षण सफल भएसगैँ तोकिएको समयमा विद्युत उत्पादनका लागी अन्य चरणका परीक्षणहरु पनि सफल हुने विश्वास गरिएको छ । परीक्षण अवधि पूरा गरेर आगामी बैशाख १७ मा पहिलो युनिट मार्फत २० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

आगामी असार १५ सम्ममा निर्माण सम्पन्न गर्ने योजनाका साथ तिव्र गतिमा काम भइरहेको आयोजनाको ९५ प्रतिशत भन्दा बढी निर्माण कार्य पूरा भइसकेको छ । सन् २०११ जुनदेखि चिनियाँ कम्पनी ‘चाइना गेजुवा गु्रप अफ कम्पनी’ले निर्माण गरिरहेको यो आयोजना बनाउन १२ करोड ५७ लाख अमेरिकी डलर प्रक्षेपण गरिएको छ । नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा बनिरहेको यस आयोजना सञ्चालनबाट एक वर्षमा तीन अर्ब रुपैयाँ आम्दानी गर्न सकिने देखिएको छ ।

उत्पादनको करीब आधा विद्युत सुख्खा याममा उत्पादन हुने र यही आयोजनाबाट सहायक योजनाको रुपमा ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालन गरिने भएकाले जलविद्युत क्षेत्रमा त्रिशूली थ्री ‘ए’लाई महत्वका साथ लिइएको छ ।