थप छलफल आवश्यक रहेको भन्दै काँग्रेसले समय मागेपछि संवैधानिक परिषद्को बैठक स्थगित

title
सोमवार, मंसिर १७, २०७५

काठमाडौँ । भावी प्रधानन्यायाधीश सिफारिस गर्न बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले थप समय मागेपछि बैठक यही मंसिर २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

पुष १७ गतेदेखि रिक्त हुने सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस गर्न सोमबार बोलाइएको संवैधानिक परिषद्को बैठक केही समय बसेर स्थगित भएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले आगामी पुस १७ गते उमेर हदका कारण अवकाश पाउदैछन् । संवैधानिक व्यवस्था अनुसार पद रिक्त हुनु एक महिना अघि अर्को नाम सिफारिस गर्नुपर्ने भएपनि न्यायापरिषदले संवैधानिक परिषद्मा पठाएको नामका विषयमा थप छलफल आवश्यक रहेको भन्दै बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकका लागि सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश, प्रमुख प्रतिपक्षी दलका नेता प्रधानमन्त्रीको कार्यालय पुगेका थिए । न्याय परिषद्ले सर्वोच्चका वरिष्ठतम न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्मा पठाइसकेको छ । तर थप छलफल आवश्यक रहेको भन्दै स्थगित गरिएको बैठक २२ गते बस्ने र सर्वोच्चसँगै अन्य संवैधानिक आयोगमा समेत नियुक्तिको सिफारिस गर्ने तयारी भएको छ ।

संविधानले विभिन्न आयोग गठन गर्ने व्यवस्था गरेको र आयोगसम्बन्धी ऐन समेत संसदबाट पारित भई प्रमाणिकरण भइसकेको अबस्थामा सरकारले अहिलेसम्म संवैधानिक आयोगमा प्रमुख लगाएत सदस्यहरु समेत नियुक्त गर्न सकेको छैन ।